वैदेशिक रोजगारका समस्या «

वैदेशिक रोजगारका समस्या

अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो सयौं युवायुवती हातमा पासपोर्ट अनि लगेज बोकेर विदेश जानका लागि जहाजको समय कुरेर बसिरहेका छन् । एकातिर छेउमा बसेका मानिस भने फूलमाला तथा दोसल्ला लगाइदिएका र हौसलाको कामना गरिरहेको देख्न सकिन्छ भने कोही आफन्तको वियोगमा रुन मात्र नसकेर मलिन अनुहार लगाएर बसिरहेका देखिन्छन् । यस्तै विदेशी पर्यटक पनि आआफ्नै तरिकामा रमाउँदै गरेका देखिन्छन् ।
हो, हाम्रो देश नेपालमा हजारौं युवायुवती अझै पनि बेरोजगारीको समस्याबाट गुज्रिरहेका छन् । विभिन्न कारणले गर्दा मानिसहरू रोजगारीबाट वञ्चित छन् । अशिक्षा, कमजोर आर्थिक अवस्था, पारिवारिक तनाव लगायतले गर्दा बेरोजगार बस्नुपरेको देखिन्छ । जति ठाउँमा भौंतारिँदा पनि देशमा रोजगारीको अवसर नपाएपछि अन्तिम गन्तव्य वैदेशिक रोजगारी नै रहेको पाइन्छ ।
यो त भयो अशिक्षा तथा कमजोर आर्थिक अवस्थाका कारण बिदेसिनु पीडा । यो त एउटा कमजोर आर्थिक अवस्थाका कारणले हुने हो । तर, हजारौं युवा धेरै पढेलेखेका र बौद्धिकताले भरिपूर्ण भएका पनि छन् । पढेर मास्टर, डिग्री गरेका पनि छन् भने देशको ठूला–ठूला प्रशासनिक सरकारी सार्वजनिक पदमा पनि पुगेको देख्न सकिन्छ । कसैले भने बैंक, वित्तीय संस्था र विभिन्न निजी कम्पनीमा रोजगारी पाइरहेको पनि देखिन्छ । कोही भने अधिकांश मानिस आर्थिक रूपमा सम्पन्न देशतर्फ पनि बढी आकर्षित भएका देख्न सकिन्छ ।
धेरै मानिसको भविष्य उज्ज्वल भएको पनि देखिएको छ भने कति मानिस वैदेशिक रोजगारीमा हुने श्रमशोषणका कारण घर न घाटको भएका छन् । यथार्थ सत्य थाहा पाएर पनि दैनिकजसो युवायुवती वैदेशिक रोजगार कम्पनीमा धाउन छोडेका छैनन् । लेबनान, कतार, साउदी अरेबिया, इराक, कुवेत, ओमन, बहराइन, सुडानजस्ता देशमा बढी श्रमशोषण हुने, समयमा पारिश्रमिक नदिने, महिलालाइ घरायसी काममा चरम यातना दिने, हप्काउने लगायत धेरै पीडा दिने गरेको सुन्न र पढ्न सकिन्छ ।
वैदेशिक रोजगारीबाट फर्केका मानिसको गुनासो के छ भने सम्बन्धित काममा अयोग्य भएका अनि सम्बन्धित देशको भाषा नजान्नाले र नराम्रो दलालको फन्दामा परेर अवैध रूपमा जानाले धेरै नेपालीले दुःख पाएको बताउँछन् । कति नेपालीले त बिरामी भै मृत्युवरणसमेत गर्नुपरेको छ ।
उनीहरू सम्पूर्ण कुरा बुझेर, सम्बन्धित काममा योग्य ठानेर राम्रो रोजगार कम्पनी छनोट गरेर अनि सम्बन्धित देशको भाषा जानेर मात्र वैदेशिक रोजगारीमा जाने सल्लाह दिन्छन्, तर हाम्रो देशको राजनीतिक परिवर्तनले गर्दा पनि धेरै मानिस वैदेशिक यात्रामा जानुपरेको देखिन्छ । आजको समयमा सबै मानिस पढेलेखेका छन्, सबै जनालाई रोजगारी उपलब्ध गराउन सरकार ग्यारेन्टी छैन, हरेक सार्वजनिक संस्थानमा हजारौं मानिसको आवेदनको घुइँचो लागिरहेकै हुन्छ ।
सरोकारका तर्फबाट हरेक युवायुवती जसले उच्च शिक्षा हासिल गरेका छन् त्यस्ता मानिसलाई हरेक सार्वजनिक निकायमा विभिन्न तहमा धेरै संख्यामा मानिसहरूलाई रोजगारको ग्यारेन्टी दिनुपर्छ । हरेक युवालाई देशमा नै केही गरौं भन्ने आशालाग्दो कार्ययोजना ल्याउने । सीपमूलक तालिमको व्यवस्था गर्ने । व्यावसायिक रूपमा शैक्षिक प्रमाण पत्रका आधारमा सहुलियत ऋणको व्यवस्था गरिदिनेदेखि बेरोजगारी भत्तालगायतका समस्या समाधान गरिदिने काम सरोकारका तर्फबाट गर्नुपर्छ ।
अहिलेको दुईतिहाइको बलियो सरकार छ । धेरै नीति तथा कार्यक्रम पनि अघि सारिएको छ । युवाहरूलाई ऋण, सीपमूलक तालिम, सरकारी क्षेत्रहरूमा रोजगारीको सीमित अवसरलगायत कार्य योजनाहरू अघि सारेका छन् त कति कार्यान्वयन पनि हुँदै छ ।
वैदेशिक रोजगारीको सवालमा पनि सरोकारको मातहतमा रही सम्बन्धित देशमा रोजगारीका लागि आवश्यक तालिमको निःशुल्क व्यवस्था गरी युवाहरूलाई प्रोत्साहनमा प्राथमिकता दिने लगायत धेरै कार्य सरकारका तर्फबाट गर्नु जरुरी देखिन्छ ।
विदेशमा पसिना बगाएका लाखौं नेपालीले कमाएको पसिनाको रकमले देशमा लाखौं रेमिट्यान्स दैनिक भित्रिने हुनाले राज्यले पनि यस्तो महŒवपूर्ण क्षेत्रमा विशेष निगरानी राखी सोही रेमिट्यान्स नेपाली राजनीतिकर्मी र सरोकारवालाहरूको खातामा जम्मा हुनुभन्दा देशमा रहेको विकास–निर्माण तथा देशको आर्थिक क्षेत्रमा लगानी होस् भन्ने अपेक्षा आम सर्वसाधारणको रहेको देखिन्छ भने सोही रेमिट्यान्स वैदेशिक क्षेत्रमा जाने हजारौं युवायुवतीको जीवन सुरक्षाका लागि विशेष कोषको समेत व्यवस्था हुनु जरुरी देखिन्छ ।
गोविन्द चापागाईं

प्रतिक्रिया दिनुहोस्