काष्ठमण्डप पुनर्निर्माणको काम सकियो «

काष्ठमण्डप पुनर्निर्माणको काम सकियो

ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले बताए ।
अध्यक्ष शाक्यका अनुसार अब काष्ठमण्डपलाई एउटै रुखको काठबाट बनेको भन्न मिल्दैन । उनले भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको बताए । अध्यक्ष शाक्यले अब चाँडै नै काष्ठमण्डपको उद्घाटन गर्ने मिति सार्वजनिक गर्ने पनि बताए ।
अध्यक्ष शाक्यले भने, “काष्ठमण्डपको सबै काम सकिएको छ, यसको पुनर्निर्माण भइसकेको छ, यसको अब पहिलाको बारमात्रै राख्न बाँकी छ, काष्ठमण्डप सबै जनमानसको पनि चासोको विषय हो । उद्घाटनतिर लाग्ने कुरा पनि आइरहेको छ, अब हामी यसको उद्घाटको पनि तिथिमिति तोक्नेछौं । हामीले यसको निर्माण गर्दा समुदायसँग मिलेर आज काष्ठमण्डप सातौँ शदाब्दीको प्रयोग गरिए पनि गारोमा थप थाम राखिएकोले सबल छ, नेपालको प्रविधिले यो बनाउन सकेको ठूलो उदाहरण हो ।
चीन, कोरिया, जापानले मात्रै बनाउन सक्छ भन्ने कुरालाई चिर्दै नेपालले पनि बनाउन सक्छ भन्ने कुराको विकास भएको छ । बनाएर देखाएको छ, अब नेपालीलाई बनाउन अवसर आउनेछन् भन्ने सोचेको छु ।”
अध्यक्ष शाक्यले पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा अहिले काठबाहेक ढुंगा, माटो, इँटा, तामालगायतका सामग्रीको प्रयोग गरिएको बताए । उनले काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको पनि बताए । चालू आर्थिक वर्ष ०७७÷०७८ मा यस वर्ष काष्ठमण्डप पुनर्निर्माणमा तीन करोड ५६ लाख ६१ हजार १ सय २४ रपैयाँ आम्दानी भएको छ भने गत वर्ष तीन करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ अनुदान प्राप्त भएको थियो ।
त्यस्तै खर्चमा भने प्रशासनिक खर्चतर्फ यस वर्ष १८ लाख ८३ हजार ९ सय ६७ रुपैयाँ र गत वर्ष १५ लाख ४८ हजार ८ सय ४९ रुपैयाँ खर्च भएको थियो । त्यस्तै निर्माण खर्च यस वर्ष ३ करोड ३७ लाख ७७ हजार १ सय ५७ रुपैयाँ खर्च भएको छ भने गत वर्ष ३ करोड ३७ लाख ३२ हजार १ सय ८८ रुपैयाँ खर्च भएको थियो । त्यस्तै जम्मा खर्च गत वर्ष ३ करोड ५२ लाख ८१ हजार ३७ रुपैयाँ ६४ पैसा र यस वर्ष ३ करोड ५६ लाख ६१ हजार १ सय २४ रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।
काष्ठमण्डप पुनर्निर्माणका लागि ११ करोड ५० लाख विभिन्न निकायबाट अनुदान सहायता प्राप्त भएको थियो भने यसको पुनर्निर्माणमा करिब ११ करोड ३९ लाख खर्च भएको पनि समितिका अध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्