दलीय सहमतिमा मात्रै महाभियोग : प्रचण्ड «

दलीय सहमतिमा मात्रै महाभियोग : प्रचण्ड


सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।
अध्यक्ष दाहालले यही मंसिर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको प्रष्ट्याएका हुन् ।
शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले राजनीतिक दलहरुको सहमती र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताए । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतीमा मात्रै हुने अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसीसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गरे ।
अध्यक्ष दाहालले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरे । उनले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको दोहो¥याए । अध्यक्ष दाहालले एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनलाई पञ्चायतीकरणको संज्ञा दिँदै त्यसविरुद्ध अझ सजक र सक्रियताका साथ लागि पर्न पनि पार्टी निकट पत्रकारहरुलाई सचेत गराए ।
अध्यक्ष दाहालले आफूहरुले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको पटक–पटक दोहो¥याए । त्यस अवसरमा उनले प्रेस सेन्टर नेपालको नेतृत्व चयनमा आफूले हस्तक्षेप नगर्ने बताए ।
उनले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेको बताए । उनले भने, “कहीँ न कहीँ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि, प्रेसलाई कमजोर पार्न सकिन्छ कि, प्रेसमार्फत भ्रम छर्न सकिन्छ कि भनेर त्यो षड्यन्त्र अझै पनि जारी छ ।”
राजनीतिकरूपमा चितवन परिचित बन्दै गएको जनाउँदै उनले भने, “प्रचण्डलाई मन पर्नेले पनि चितवन रोज्ने भए, नपर्नेले पनि चितवन रोज्ने भए, मन परेर आउनेलाई पनि धन्यवाद मन नपरेर आउनेलाई पनि धन्यवाद ।” देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको दाहालको भनाइ थियो । सच्चा र इमान्दार कम्युनिष्ट एकताबद्ध हुनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले सरकार परिवर्तन भए पनि प्रेस स्वतन्त्रता विरोधी ऐन, कानुन बन्ने प्रक्रिया नरोकिएकाले नयाँ सरकारको अनुभूति प्रेसले पाउन नसकेको बताए । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापा, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह, नेकपा माओवादी केन्०का प्रवास अध्यक्ष ओम शर्मा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाललगायतले बोलेका थिए ।
महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न हुँदै छ । महाधिवेशनमा देशभरबाट ८०० हाराहारी प्रतिनिधि सहभागी भएको केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्