साउदी जेलमा रहेका भुसाललाई कारागारमुक्त गर्न ४१ लाख सहयोग

वैदेशिक रोजगारको क्रममा साउदी अरबको जेलमा बन्दीे जीवन बिताइरहेका थानेश्वर भुसाललाई कारागारमुक्त गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली समन्वय समितिले संयुक्त रूपमा ४० लाख ९८ हजार रुपैयाँ सहयोग गरेको छ ।
विगत लामो समयदेखि साउदी अरबको जेलमा बन्दी जीवन बिताइरहेका भुसाललाई कारागारमुक्त गर्न गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार र प्रवासी नेपाली समन्वय समितिले २५ लाख ४५ हजार सहयोग गरेका हुन् । शुक्रबार एनआरएनएले आयोजना गरेको एक कार्यक्रममा दुवै संस्थाले छुट्टाछुट्टै सहयोग रकमको चेक परराष्ट्र सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्राप्त सहयोग रकम साउदी अरेबियाको नेपाली महावाणिज्य दूतावासमा पठाई थानेश्वर भुसाललाई जेलबाट रिहा गर्ने प्रक्रिया सुरु गरिने परराष्ट्र सचिव वैरागीले जानकारी दिए । सचिव वैरागीले विदेशमा आपतमा परेका नेपाली नागरिकका लागि सहयोग रकम जुटाउन सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ र प्रवासी नेपाली समितिलाई धन्यवाद दिएका थिए ।
संघले आफ्नो राहत कोषबाट १२ लाख ५० हजार, एनसीसी साउदी अरेबियाले २ लाख ५० हजार र एनसीसी मलेसियाले ५० हजारसहित १५ लाख ५० रुपैयाँ उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा प्रवासी नेपली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले समितिका साथै भुसालको रिहाइका लागि संकलन गरिएको रकमबारे जानकारी गराएका थिए । कार्यक्रममा भुसालकी आमाले आपत परेको बेलामा रकम जुटाई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ र प्रवासी नेपाली समन्वय समितिप्रति आभार प्रकट गरेकी थिइन् । संघका अध्यक्ष भट्टले सहयोग रकम जुटाएकोमा एनसीसी साउदी अरेबिया, एनसीसी मलेसिया र यस काममा पहल गर्ने प्रवासी नेपाली समन्वय समितिलगायत सहयोग गर्ने सबै गैरआवासीय नेपालीहरूलाई आभार व्यक्त गरेका छन् । उनले थानेश्वर भुसालको रिहाइमा चाहिने आवश्यक रकम नेपाल सरकारलाई बुझाइसकेको र चाँडै नै सरकारले आवश्यक प्रक्रिया पु¥याई नेपाल फर्काउने विश्वास व्यक्त गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की, गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्री, प्रवक्ता भूषण घिमिरे, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरणविक्रम थापा र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागिता रहेको थियो ।