अरुण तेस्रोमा ‘डेडिकेटेड’ सुरक्षा टोली «

अरुण तेस्रोमा ‘डेडिकेटेड’ सुरक्षा टोली

बम विष्फोटपछि अडिट टनेलको काम अवरुद्ध

लगानी बोर्ड नेपालले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरक्षाका लागि ‘डेडिकेटेड सेक्युरिटी टिम’ राख्ने प्रस्ताव गरेको छ । तीन साताअघि अज्ञात समूहले बम विष्फोट गरेपछि सुरक्षालाई सृदुढ बनाउन लगानी बोर्डले यस्तो प्रस्ताव गरेको हो ।
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमले (एसजेएन) निर्माण गर्न लागेको अरुण तेस्रो वैदेशिक लगानीको सबैभन्दा ठूलो आयोजनाको रुपमा लिइन्छ । कम्पनीले पाँच वर्षभित्र नेपालमा १ खर्ब रुपैयाँ बराबरको लगानी गर्न लागेको छ । लगानी बोर्डका प्रवक्ता उत्तम वाग्लेले अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि डेडिकेटेड सेक्युरिटी टिमको व्यवस्थाका लागि गृह मन्त्रालयमा प्रस्ताव गरी पत्र पठाइएको बताए । “जलविद्युत् आयोजनालाई कुनै पनि किसिमको असुरक्षाको वातावरण नहोस् भनेर हामीले डेडिकेटेड सेक्युरिटी टिम राख्नका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएका छांै,” उनी भन्छन्, “अहिले जनपद प्रहरी र एक टुकडी सशस्त्र प्रहरी भए पनि अझ बढी सुरक्षित वातावरणका लागि प्रस्ताव गरिएको हो ।”
सन् २००८ मा खुला प्रतिस्पर्धामार्फत अनुमतिपत्र (लाइसेन्स) दिँदा नै आयोजनाबाट नेपालले निःशुल्क २१.९ प्रतिशत बिजुली पाउने उल्लेख छ । विदेशी लगानीमा बन्ने आयोजनामध्ये तुलनात्मक रुपमा नेपालले नाफा लिनसक्ने भए पनि ७ फेब्रुअरी २०१९ मा बम विष्फोट भएपछि आयोजनाको मुख्य सुरुङ (टनेल) तर्फको काम अवरुद्ध भएको छ । बम विष्फोटको कारणले हाइड्रोलिक बुम्बर र तीन नम्बर डिजेल जेनेरेटर क्षति भएको थियो । स्वीडेनबाट ब्रुम्बर ल्याउनुपर्ने कारण आयोजनाको काम प्रभावित हुने देखिएको छ ।
बम विष्फोटपछि हालसम्म सरकारले यसमा संलग्न कसैलाई पक्राउ भने गरिसकेको छैन । संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेबहादुर अधिकारीले बम विष्फोट गर्ने समूहको खोजी कार्य भइरहेको बताए । “बम विष्फोट गर्ने समूहबारे सबैलाई थाहा नै छ, यसमा संलग्नहरूको खोजी जारी राखेका छौं,” उनले भने, “जिल्लामा रहेका प्रहरीको संख्या थोरै भएकोले आयोजनाको निर्माण कार्य भइरहेका सबै क्षेत्रमा सुरक्षा दिन नसक्ने भएकोले थप सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालय र लगानी बोर्डलाई आवश्यक समन्वय गर्नका लागि भनेका छौं ।”
२०५२ सालमा अरुण तेस्रोको विरोध र तत्कालीन नेकपा एमाले नेता माधवकुमार नेपालले विश्व बैंकलाई आयोजना रद्द गर्न लेखेको पत्रसँगै बैंकले हात झिकेको सो आयोजनामा १० वर्षअघि भारतीय कम्पनीले लाइसेन्स लिएर आयोजना निर्माणको कार्य अघि बढाएपनि बेला बेलामा अवरोधका घटना भने हुँदै आएका छन् । भारतीय सरकारी कम्पनीले आयोजनाको निर्माण अघि बढाएकोले आयोजना बन्ने र आयोजना निर्माणपछि विश्वभर नेपालमा लगानीको वातावरण रहेको देखिने भएकोले लगानी बोर्डले उचित वातावरणको लागि पहल भने गरिरहेको छ तर बम विष्फोटको घटनाले नकारात्मक सन्देश दिएकोले सरकारी निकायले आयोजनामा डेडीकेटेड सुरक्षा वलनै राख्न लागेको छ । “सेक्युरिटी टिम राखेपछि आयोजनाको निर्माण कार्य बिनाअवरोध अघि बढ्ने अपेक्षा गरेका छौं,” प्रवक्ता वाग्ले भन्छन्, “लगानीकर्ताका लागि सुरक्षाको व्यवस्था पनि महत्वपूर्ण हुन्छ, यसमा बोर्डले सहजीकरण गर्छ ।”
निर्माण सुरु गरेर हालसम्म १५ प्रतिशत सम्पन्न गरी सकेको आयोजनाको निर्माण कार्य सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको आयोजनाले तीन महिनाभित्र वित्तिय व्यवस्थापन गरिसक्ने लक्ष्य राखेको छ । दुई साताअघि मात्र प्रसारणलाइनको अनुमतिपत्र पाएपछि कम्पनीले वित्तिय व्यवस्थापनको काम अघि बढाउन लागेको छ । आयोजनाले बाँधु, विद्युत् गृह, सुरुङ निर्माणलगायतका कार्य सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्