नेकले ग-यो एकैपटक १८९ जना इन्जिनियरलाई बिदाइ «

नेकले ग-यो एकैपटक १८९ जना इन्जिनियरलाई बिदाइ

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुबाकोट भक्तपुरले कलेजमा अध्ययन पूरा गरेका १ सय ८९ इन्जिनियरलाई राजधानीमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
बिदाइ कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सोम मिश्रले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी विद्यार्थी इन्जिनियरहरूलाई बिदाइ गरेको हो । सिभिल इन्जिनियरिङतर्फका १ सय ४१ जना र एन्ड रुरल इन्जिनियरिङतर्फका ४८ जना गरी जम्मा १ सय ८९ जना विद्यार्थी इन्जिनियरहरूलाई बिदाइ गरेको हो ।
कार्यक्रममा मेयर मिश्रले चाँगुनारायणलाई प्राविधिक महाविद्यालयको हब बनाउने योजना रहेको भन्दै त्यसमा साथ दिन पास आउट भएका विद्यार्थीसँंग पनि अनुरोध गरे । चाँगुनाराय नगरपालिका क्षेत्रमा रहेको नेपाल इन्जिनियरिङ कलेज दुबाकोट चाँगुनारायण भक्तपुरलाई प्राविधिक महाविद्यालयको हब मात्रै नभई हेर्न लायकको इन्जिनियरिङ कलेज बनाउने योजना रहेको उनले सुनाए ।
कार्यक्रममा कलेजका प्राचार्य प्राडा. हरिकृष्ण श्रेष्ठले आफ्ना विद्यार्थीहरूलाई पढाइ पूरा गरी फिल्ड खटिँदा कलेजको नाम राख्ने गरी खटिन निर्देशन दिए । काममा खटिँदा नैतिकता साथमा लिएर काम गर्न उनले निर्देशन दिए । व्यक्तित्व विकासका लागि निरन्तर अध्ययन अनुसन्धान गरिरहन सुझाब दिँदै प्राडा श्रेष्ठले अध्ययनलाई कहिल्यै नछाडन आग्रह गरे । आ–आफ्नो व्यक्तित्व विकासका लागि पेसासँंग सम्बन्धित छाता संगठनहरूमा आबद्ध हुन उनले सल्लाह दिए ।
कलेज सञ्चालक समितिका सदस्य सोम प्रधानले कलेज निजी हो कि सामुदायिक हो भने विवाद चलिरहेको चर्चा गरे । उनले कलेजलाई जुनसुकै हालतमा पनि निजी बनाउन नदिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बाबुसाहेककुमार बैठ र अर्जुन शाही प्रोग्राम टपर भई पुरस्कृत भएका थिए । साथै अनिश गिरी, नवराज पौडेल, सुदीप रिजाल, विवेक कोइराला सब्जेक्ट टपर भई पुरस्कृत भएका थिए ।
कार्यक्रममा एकेडेमिक कोअर्डिनेटर बाबुराम भटराई, प्रशाशन प्रमुख श्रीमा शर्मा, सिभिल इन्जिनियरिङतर्फका एसिस्टेण्ट प्रोफेसर अजय खड्का, सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फका यमन ढकाललगायतले बिदाइ भई गएका विद्यार्थीलाई बधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्