हिमालमुनि त्रिपालभित्रै पढाइ «

हिमालमुनि त्रिपालभित्रै पढाइ

लमजुङ-मस्र्याङदी नदिमा आएको बाढीले विद्यालय संरचना पुरिएपछि त्रिपाल भित्र पठनपाठन हुँदै आएको मनाङको तालस्थित भानु माध्यामिक विद्यालयमा समस्या हुन थालेको छ । चिसो मौषम शुरु भएसँगै हिमाली जिल्ला मनाङका विद्यार्थीहरूलाई त्रिपालभित्र पठनपाठनमा समस्या थपिएको हो ।
गत असारको पहिलो साता मस्र्याङदी नदिमा आएको बाढिले विद्यालय पुरिएपछि नासोङ गाउँपालिका–१, तालस्थित हिमालमुनी रहेको सो विद्यालयमा त्रिपाल टाँगेर पठनपाठन सुरु भएको थियो । लामो समय कोभिड संक्रमण जोखिमका कारण विद्यालय बन्द रहेको र सोही बीचमा मस्र्याङ्दी नदिमा आएको बाढीले विद्यालय भवन पुरिएपछि पठनपाठन गर्ने ठाउँ नहुँदा त्रिपाल-टेन्ट टाँगेर पठनपाठन शुरु भएको थियो । त्रिपाल भित्र पठनपाठन सुरु भएको केही महिनामै अत्याधिक चिसो बढेपछि निकै समस्या भएको विद्यालयले जनाएको हो ।
विद्यालयको भौतिक संरचना र शैक्षिक सामग्री नहुँदा अध्ययनमा निकै समस्या भएको सोही विद्यालयमा अध्ययनर छात्रा निमा गुरुङले बताइन् । मनाङमा अहिले निकै चिसो बढेको र स्थायी संरचना नहुँदा चिसोले सताउने छात्रा गुरुङको भनाइ छ । अध्ययनको क्रममा संरचना र शैक्षिक सामाग्रीको अभाव हुँदा पढाइमा ध्यान केन्द्रित गर्न निकै समस्या भएको छात्रा गुरुङले बताइन् ।
‘त्रिपालभित्र चिसो हुन्छ, लेख्न पनि सकिन्न’ गुरुङले भनिन ‘साना बालबालिकाहरूका लागि त बेन्च समेत छैन, भुइँकै चिसोमा बसेर पढ्नुपर्ने अवस्था छ ।’
बाढीका कारण विद्यालयको कुनै पनि भौतिक संरचना नभएको र शैक्षिक सत्र सुरु भईसकेकोले बालुवा माथी त्रिपाल टाँगेर भएपनि कक्षा सञ्चालन गरिएको विद्यालयका शिक्षक सुन्दरबाबु श्रेष्ठले बताए । कक्षा सञ्चालनको निम्ति भौतिक संरचना पनि नभएको र पर्याप्त टेन्ट पनि नभएपछि स्थानिय गाउँपालिका एवं अन्य सहयोगी निकायहबाट उपलब्ध टेन्ट टाँगेर पढाई सुुरु गरीएको शिक्षक श्रेष्ठको भनाई छ । बाढीको प्रभाव र उपयुक्त संरचना नहुँदा विद्यार्थीको बाल मनोविज्ञानमै असर परेको शिक्षक श्रेष्ठले बताए ।
‘बाढी र पहिरोका कारण बालबालिकाहरूमा मनोबैज्ञानिक असर परेको छ’, शिक्षक श्रेष्ठले भने ‘बालबालिका विद्यालयमा मात्रै हैन घरसमेत क्षतिग्रस्त हुँदा पठनपाठनमा समस्या भएको छ ।’
विद्यालयको भौतिक संरचनामा बाढिले प्रभावपारेसँगै चालू शैक्षिक सत्रमा विद्यार्थीहरू समेत घटेको विद्यालयले जनाएको छ । एकसय भन्दा बढि विद्यार्थी अध्यनरत सो विद्यालयमा चालु शैक्षिकसत्रदेखि आधाभन्दा बढी विद्यार्थी कम भएको सोहि विद्यालयका अर्का शिक्षक सिंहबहादुर गुरुङले बताए । लमजुङ–मनाङ सिमानामा रहेको सो विद्यालयमा छिमेकी जिल्ला लमजुङबाट पनि केहि विद्यार्थीहरू अध्यनका लागि पुग्ने गर्दथे । तर, अब विद्यालयको भौतिक संरचना क्षतिग्रस्त भएको र बाढीसँगै विभिन्न ठाउँमा गएको पहिरोले लमजुङ तर्फका विद्यार्थीहरूलाई अध्ययनका निम्ती विद्यालय पुग्न कठिन हुने भएपछि विद्यार्थी कम भएको शिक्षक गुरुङको भनाइ छ ।
यसअघि सो विद्यालयमा २४ जना तिव्वती शरणार्थी विद्यार्थीहरू अध्ययन गर्दै आएका थिए । तर हाल ति विद्यार्थीहरूलाई सम्वन्धीत सँस्थाले पोखरा सरीसकेको विद्यालयले जनाएको छ । विद्यालयले यसअघि छात्रावासको समेत व्यवस्था गरेको थियो । भौगोलिक रुपमा टाढा रहेका विद्यार्थीहरू छात्रबासमै बसेर पनि अध्ययन गर्दै आएका थिए । तर बाढीले छात्रावासको भवन समेत पुरेपछि अहिले आवासिय व्यवस्था गर्न नसकिएको विद्यालयले जनाएको छ ।
२०३२ सालमा स्थापना भएको सो विद्यालय अहिले बाढीका प्रभावले संरचना क्षतिसँगै विद्यार्थी र शैक्षिक क्रियाकलापमा समेत ठूलो नोक्सानी व्यहोर्नुपरेको विद्यालयका प्रअ पन्तको भनाइ छ ।
मनाङको ताल सँगै सदरमुकाम चामेमा रहेको लोकप्रिय माविमा पनि बाढीले क्षति पु-याएको थियो । चामेस्थित लोकप्रिय माविको केहि संरचना बाढीले बगाएको छ भने बाँकी संरचनामा तारवार गरी पठनपाठन सुरु भएको छ । जिल्लाका अन्य विद्यालयहरूमा पनि संकटकाबीच बैकल्पिक व्यवस्थापन गरी पठनपाठन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्