मौसमका कारण उडान प्रभावित «

मौसमका कारण उडान प्रभावित


शनिबार बिहान काठमाडौंको भिजिविलिटी कम हुँदा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । मौसममा आएको परिवर्तनका कारण शनिबार अन्तर्राष्ट्रिय उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
कम भिजिविलिटीका कारण ६ वटा विमान उपत्यकाको आकाशमा होल्डमा परेको र एउटालाई डाइर्भट गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । दुबईबाट काठमाडौं अवतरणका लागि आएको फ्लाई दुबईको विमान भारतको लखनउ डाइभर्ट गरिएको थियो । जजिरा र हिमालय एयरलाइन्सका २, नेपाल वायुसेवा निगमका २, कतार एयरलाइन्सको एक विमान होल्डमा परेको प्रवक्ता ठाकुरले बताए ।
शनिबार बिहान विमानस्थलको भिजिविलिटी ५ सय मिटर मात्र थियो । विमानले उडान भर्न ८ सय मिटर र अवतरणका लागि १६ सय मिटर भिजिबिलीटी आवश्यक पर्छ । सोही कारण उडान प्रभावित भएको विमानस्थलल कार्यालयले जनाएको छ । १० बजेर १५ मिनेटपछि भिजिविलिटीमा सुधार आएको थियो भने ११ बजे भने भिजिविलिटी ३ हजार मिटर भएसँगै उडान तालिका नियमित भएको प्रवक्ता ठाकुरले बताए ।
आन्तरिकमा पनि शनिबार उडान प्रभावित भएको विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडालले बताए । जाडो समयमा बिहान हुस्सु लाग्ने गरेको र विमानस्थल ढिला खुल्दा राति ११ बजेसम्म उडान अवतरण हुने गरेको चुडालले बताए । शनिबार १० बजे मात्र आन्तरिक विमानस्थल खुलेको थियो । जाडो समयमा मौमका कारण विमानस्थल ढिलो खुल्दा उडान समय मध्यान्न र अपरान्हमा सर्दा नियमित उडान तालिका प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्