नाडाको नयाँ नेतृत्वका लागि थापाको प्यानल घोषणा «

नाडाको नयाँ नेतृत्वका लागि थापाको प्यानल घोषणा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानल घोषणा गरेका छन् । १८ सदस्यीय कार्यसमितिका लागि थापाले प्यानल घोषणा गरेका हुन् ।
थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योती रञ्जित, बि एन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान छन् । थापाले अटोमोबाइल क्षेत्रको सबै पक्षलाई समेटेर समावेशी टिम बनाएको बताए । नाडाको इतिहासमै यस्तो समावेशी प्यानल पहिलोपटक बनेको उनको दावी छ ।
‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ थापाले नीतिगत योजना, सचिवालय सुधार, नाडा अटो सो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हब निर्माण, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिवद्धता जनाएका छन् । आफ्नो टिमले अटोमोबाइल क्षेत्रको समस्या बुझेको र समाधानको योजनासहित अगाडि बढेको थापाले बताए ।
“हामीले सबै प्रदेशका साथीहरूसँग अन्तरक्रिया गरेका छौं । छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौं” उनले भने । थापा प्यानलले प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने जनाएको छ । नाडाको नयाँ नेतृत्वका लागि करण चौधरीले पनि प्यानल घोषणा गरेका छन् । नाडाको निर्वाचन आगामी मंसिर २३ गते काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्