साक्षर जिल्लामा स्कुल पुग्न तीन घण्टा «

साक्षर जिल्लामा स्कुल पुग्न तीन घण्टा

चार गाउँका बालबालिकाले विद्यालयको आँगन देखेनन्

जाजरकोट । बारेकोट गाउँपालिका–८ स्थित चारवटा गाउँका बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालयभन्दा गाउँ धेरै टाढा भएपछि यहाँका बालबालिका विद्यालय जान नपाएका हुन् ।
जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिका– ८ का रिम्दारा, खालकाट्टे, डाँडाखानी र माथेल्लो लैखमगाउँका सयौँ बालबालिका विद्यालय जानबाट बन्चित भएको स्थानीय रणबहादुर खत्रीले जानकारी दिए । चार गाउँका बालबालिका हाल विद्यालय रहेको साँघुतरामा जानका लागि ३ घण्टा भन्दा बढी लाग्ने भएकाले जान नसकेको बताउँदै खत्रीले भने, “म आफैं पनि ११ वर्षको उमेरमा विद्यालयमा पाइला टेकेको थिएँ । घरदेखि विद्यालय टाढा भएपछि हिँड्न नसकेकै कारण म उमेर बढेपछि विद्यालयमा गएको हुँ । मेरो उमेरका अधिकांश साथीभाइ विद्यालयको मुख नै देख्न नपाई अहिले निरक्षर हुनुभएको छ ।”
पछेल्लो समयमा गाउँगाउँमा विद्यालय खोल्ने होडवाजी नै चलेपनि यहाँको चार गाउँलाई सम्वोधन हुने गरी विद्यालय सञ्चालन नहुँदा सयौं बालबालिका विद्यालयसम्म पुग्न पाएका छैनन् । आधारभूत विद्यालय पढ्ने उमेरमा कक्षा १ मा भर्ना हुँदा यहाँका सयौँ बालबालिकाहरू बीचमै पढाइ छोड्ने गरेको अर्का स्थानीय हरीबहादुर खत्रीले बताए । खत्री भन्छन्, “अन्य बालबालिका सानै उमेरमा आधारभूत तहमा पढ्छन् । हाम्रा छोराछोरी सोही उमेरमा कक्षा १ मा पढ्न जाँदा लाजले विद्यालय नै जान नमान्ने गरेको छन् । घर नजिक विद्यालय भएको भए सानै उमेरमा विद्यालय गएर सबै विद्यार्थीहरूसँग समान उमेर हुने थियो ।”
दलित समुदाय बाहेक अन्य समुदाय बसोबास गर्ने यी चार गाउँमा यहाँका स्थानीय बसोबास गरेदेखि हालसम्म विद्यालय स्थापना हुन सकेको छैन । हाल भगवती आधारभूत विद्यालय रहेको साँघुतरामा पुग्न चार गाउँका बालबालिकालाई फलामको चिउरा चपाउनु सरह भएको अभिभावकहरू बताउँछन् । लैखम गाउँमा विद्यालय स्थापना भएमा यहाँका चार गाउँका बालबालिका विद्यालयको पहुँचमा पुग्ने अर्का स्थानीय जयबहादुर खत्रीले बताए । शिक्षामात्र होइन, यहाँका स्थानीय सञ्चार, विद्युत्, स्वास्थ्य सेवाबाट समेत बन्चित रहेका छन् ।
नलगाड नगरपालिका–५ सिर्के स्थित जुनि बाल संरक्षण मावि साँघुतराबाट १५ मिनेटको दूरीमा रहेको छ । यता भने चार गाउँका बालबालिका विद्यालय आउन तीन घण्टा लाग्ने गरेको कारण विद्यालयको मुख देख्न नपाउने समस्य भएको खत्रीको भनाइ छ । गाउँका स्थानीयले तत्कालिन जिल्ला शिक्षा कार्यालय र हालको गाउँपालिकामा पटकपटक विद्यालय स्थापना गर्न माग गरेपनि त्यसको सुनुवाइ नभएको स्थानीयको गुनासो छ । चार गाउँका स्थानीयहरू स्वास्थ्य सेवा लिनका लागि सेपुखोला स्थित स्वास्थ्य संस्था आउन झण्डै ४ घण्टा लाग्छ । चारगाउँका स्थानीयबासीका बालबालिका पढ्नका लागि घर नै छोड्नुपर्ने बाध्यता रहेको छ । जाजरकोट साक्षर जिल्ला घोषणा गरेको जिल्ला हो ।

सञ्जय केसी

प्रतिक्रिया दिनुहोस्