चिनीमा भन्सार महसुल यथावत राख्न माग «

चिनीमा भन्सार महसुल यथावत राख्न माग

उपभोक्ता अधिकारकर्मीहरूले चिनीमा भन्सार महसुल दर यथावत राख्न सरकारसँग माग गरेका छन् । सरकारले उद्योगीहरूको दबाबमा चिनी आयातमा भन्सार महसुल दर बढाउने तयारी गरिरहेका बेला उपभोक्ता अधिकारीकर्मीले त्यसको विरोध गर्दै भन्सार दर यथावत राख्न माग गरेका हुन् ।
उद्योगीहरूले भन्सार शुल्क १५ बाट ५० प्रतिशत पु¥याउनुपर्र्ने भन्दै दबाब दिएपछि सरकारले महसुल दर बढाउने तयारी गरेकोे छ  । चिनी आयातमा भन्सार दर वृद्धि गर्दा सर्वसाधारण महँगीको मारमा पर्ने भन्दै उपभोक्ताकर्मीले विरोध गरेका हुन् । राष्ट्रिय उपभोक्ता मञ्चले शुक्रबार विज्ञप्ति जारी गर्दै भन्सार महसुल वृद्धि नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग माग गरेको हो । चिनीमा वृद्धि गर्न लागेको भन्सार महसुल दरलाई यथावतै राख्नुपर्ने मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उद्योगीहरूको मागअनुसार आयात शुल्क वृद्धि गर्दा सर्वसाधारणको टाउकोमा महँगीको भार थपिनुका साथै चिनीको कालोबजारी हुने बताए । नेपाल चिनी उद्योग संघले भने चिनीको बजार मूल्य अन्तर्राष्ट्रिय बजार र छिमेकी मुलुक भारतमा समेत निकै तल झरेको अवस्थामा स्वदेशी उद्योगलाई टिकाइ राख्न चिनीको आयातमा लाग्दै आएको भन्सार शुल्क १५ प्रतिशतलाई वृद्धि गरी ५० प्रतिशत पुरायाउनुपर्ने मागसहित कृषि, आपूर्ति, वाणिज्य र अर्थ मन्त्रालयमा लबिङ गर्दै आएको छ । अन्तर्राष्ट्रिय मूल्यलाई देखाएर संघले यो वर्ष स्वदेशी किसानको उखुको मूल्य पनि तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्