बजार व्यवस्थित र सुन्दर बनाउन छलफल «

बजार व्यवस्थित र सुन्दर बनाउन छलफल

म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरुबीच छलफल भएको भएको छ ।
बेनी बजारलाई सुन्दर र व्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल व्यवसायीले घर अगाडि सडक च्यापेर होटिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गरी सामान राख्न बनाइएको छाप्रो १५ दिनभित्र हटाउन व्यवसायीलाई आग्रह गरेको छ ।
नगरपालिकाभित्र ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन व्यवस्थित पार्किङ, फरकिलो बाटो, सार्वजनिक स्थलमा सरसफाई, सिसी क्यामरा जडान, बजार सडक बत्तीलगायतलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजना गरेको छलफलमा सुरक्षा निकाय, म्याग्दी उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला उपस्थित भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए ।
बजार सुन्दर बनाउने अभियानमा भएको कमि कमजोरी नदोहोरिने गरी व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरोकारवालाहरुको निर्णय बेनी बजारका व्यवसायीले कार्यान्वयन नगरे सुरक्षा निकायको सहयोगमा हटाउने प्रतिवद्धता जनाएका थिए । प्रजिअ रानाले बजारलाई सुन्दर बनाउन टोलसुधार समिति सक्रिय, बसपार्क व्यवस्थापन समिति निर्माण गर्न, सरसफाई गर्ने कुचिकार राख्न नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बजार व्यवस्थित बनाउन नगर प्रहरी र सार्वजनिक स्थल सरसफाई गर्ने कुचिकार राख्न आग्रह गरे । जिल्ला प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बजारका सार्वजनिक स्थलका अस्थाई छाप्राहरु हटाएर पाकिङ व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरे ।
बसपार्कलाई निजी व्यवसायीले प्रयोग गर्दा यातायात सेवा प्रभावित भएको भन्दै उनले नगरपालिकाले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए । ट्राफिक व्यवस्थापनमा स्थानीय सचेत बनेर पार्किङ र नो पार्किङ बोर्डलाई हप्ता–हप्तामा परिर्वतन गरिदिन आग्रह गरेका छन् । बेनी बजारलाई सुन्दर बनाउने विभिन्न समयमा भएका निर्णहरु कार्यान्वयनको अभावले अव्यवस्थित भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्