चाँदी आयातमा कडाइले निकासी प्रभावित हुने «

चाँदी आयातमा कडाइले निकासी प्रभावित हुने


नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कसिलो नीति लिएसँगै निकासी व्यापारमा नकारात्मक प्रभाव पर्ने व्यवसायीहरुले बताएका छन् । यसबाट धेरैको रोजगारीसमेत गुम्नसक्ने भन्दै व्यवसायीहरुले निर्णय फिर्ता लिन केन्द्रीय बैंकसँग आग्रह गरेका छन् ।
खासगरी हस्तकलाजन्य सामग्री निर्यात प्रभावित हुने तथा चाँदीका गरगहना बनाउन समेत मुख्य कच्चा पदार्थको अभाव हुने उनीहरुको भनाइ छ ।
केन्द्रीय बैंकले गत साता चाँदी आयातका लागि अधिकतम एक पटकमा ३५ हजार डलरको सीमा तोकेको थियो । अस्वाभाविक रुपमा चाँदी आयात भएर मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएको भन्दै राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेको हो ।
जसअनुसार चाँदी आयात गर्दा एक पटकमा ३५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने उल्लेख छ । एक पटकमा १ हजार केजीसम्म आयात गर्न पाउने व्यवसायीले अब भने प्रत्येक दिन ४० केजीभन्दा बढी चाँदी आयात गर्न पाउने छैनन् ।
राष्ट्र बैंकको यो व्यवस्थाको नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ लगायतका सरोकारवाला संघसंस्थाले विरोध गरेका छन् । “चाँदी आयातका लागि अधिकतम ३५ हजार डलरको सीमाले चाँदीका गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा ठूलो असर गर्ने तथा यी उद्योगहरुमा कार्यरत कालिगढहरुको पनि रोजगारी गुम्ने जोखिम बढाएको छ,” चेम्बर अध्यक्ष राजेन्द्र मल्लले भने । उनका अनुसार, केन्द्रीय बैंकको निर्णयले निर्यातजन्य क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ । नेपालमा चाँदीको वास्तविक माग र आपूर्तिको अध्ययन नै नगरी ल्याइएको नीतिले निर्यातको सम्भावना बोकेको क्षेत्र धरासायी हुने जोखिम बढेको छ ।
हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य चाँदीको आन्तरिक खपत नै उच्च रहेको बताउँछन् । निर्यातजन्य क्षेत्रका लागि मात्र नभई चाडपर्व र विवाह–ब्रतबन्धमा समेत यसका गहना र भाँडाकुँडाको माग रहेका कारण यसमा सुनमा जस्तै कोटा तोकिँदा समस्या आउने उनको भनाइ छ । “नेपालबाट विदेश निर्यात हुने चाँदीका गरगहना र अन्य सामग्रीको परिमाण कम देखिए पनि विदेशी पर्यटकले ह्यान्ड क्यारीमा लैजाने प्रचलन पनि उत्तिकै छ,” शाक्य भन्छन्, “यसैले पनि चाँदी आयातमा सहजीकरण गर्नुपर्छ, अवैध रुपमा नेपालको बाटो हुँदै निकासी भइरहेको छ भने सरकारले नियन्त्रण गर्न सक्नुपर्छ तर त्यसको सजाय हामी व्यवसायीलाई दिन पाइँदैन ।”
चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा मुलुकबाट १४ करोड ६५ लाख रुपैयाँ बराबरको ७ सय ३७ केजी चाँदीका गरगहना निर्यात भएको छ । गत आर्थिक वर्षभरमा ६ सय ७७ केजी चाँदीको गरगहना निर्यात भएको तथ्यांक छ । नेपाल बाहिर रहेका नेपालीले मात्र नभई विदेशी नागरिकले समेत नेपालका मौलिक तथा हातैले बनाएका चाँदीका गरगहना रुचाउने गर्छन् । यद्यपि, नेपालमा चाँदी ८० प्रतिशत आन्तरिक बजारमै खपत हुने व्यवसायीको भनाइ छ । तर यता चार महिनामा चाँदी आयात भने उच्च रहेको तथ्यांकले देखाएको छ । यस अवधिमा १२ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख २९ हजार ४ सय १० केजी आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्