सेयर बजारमा डेढ सय अंकको गिरावट «

सेयर बजारमा डेढ सय अंकको गिरावट


नेपाली सेयर बजारमा यो साता करिब डेढ सय अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावले बढेको व्याजदर र राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताका माग नसमेटिएपछि लगानीकर्ता निराश देखिएका हुन् ।
सेयर बजार परिसूचक (नेप्से) गत साता २७३१ अंकमा बन्द भएकोमा यो साता घटेर २५८६ अंकमा झरेर बन्द भएको छ । साताभर पाँच दिन कारोबार भएकोमा चार दिन बजारमा गिरावट आयो भने एक दिनमात्र सामान्य वृद्धि भएको छ । नेप्से सूचक आइतबार ८०, सोमबार २१, मंगलबार १ र बिहीबार ४९ अंकले घट्यो । बुधबार भने ५ अंकले वृद्धि भएको थियो ।
सेयर बजारमा गिरावटसँगै कारोबार रकम पनि घट्न थालेको छ । बिहीबार बजारमा पौने ४ अर्ब रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ऋणको सीमा तोकेसँगै सेयर बजारमा नकारात्मक प्रभाव देखिन थालेको थियो । राष्ट्र बैंकले एउटा बैंक वा वित्तीय संस्थाबाट प्रतिऋणी ४ करोड र सम्पूर्ण प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने गरी सीमा तोकेको थियो । उक्त प्रावधान भदौ पहिलो साताबाट कार्यान्वयमा आएको हो ।
यसैगरी पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव देखिएको छ । बैंकहरुको कर्जा–निक्षेप (सिडी) अनुपात ९० प्रतिशत नाघेपछि कर्जा विस्तार प्रभावित भएको छ भने व्याजदर पनि वृद्धि भएको छ । यसको प्रभाव पनि सेयर बजारमा परिरहेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितो कर्जा र सिडी रेसियोका विषयमा लचकता अपनाउने अपेक्षा लगानीकर्ताको थियो । तर, शुक्रबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सिडी रेसियो कार्यान्वयनमा थप कडाइ गरेको छ । यसैगरी सेयर धितो कर्जाको सीमाबारे कुनै संशोधन गरेन । यसले पनि लगानीकर्ता निराश भएको विश्लेषण गरिएको छ ।
राष्ट्र बैंकका अधिकारीहरुले भने बैंक तथा वित्तीय संस्थाको लगानी सुरक्षित गर्नका लागि मात्र सेयर धितो कर्जामा सीमा तोकिएको दावी गर्दै आएका छन् । सीमित व्यक्तिले मात्र सेयर धितो कर्जाको सुविधा लिएकाले बैंकको लगानी जोखिम कम गर्नका लागि सेयर धितोमा सीमा तोकिएको र यो सीमा परिवर्तन गर्नुपर्ने कुनै आवश्यक्ता नदेखिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्