नाडाको नयाँ नेतृत्वका लागि करण चौधरीको प्यानल घोषणा «

नाडाको नयाँ नेतृत्वका लागि करण चौधरीको प्यानल घोषणा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि करण चौधरीले प्यानल घोषणा गरेका छन् । चौधरीको अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरिएको हो ।
चौधरीको टिममा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।
प्यानल घोषणा कार्यक्रममा अध्यक्षका प्रयासी करण चौधरीले अटो मोबाइलको सबै क्षेत्रलाई समेटेर टिम बनाएको बताए । अटो मोबाइल क्षेत्रको समग्र हितका लागि आफू र आफ्नो टिमले काम गर्ने भन्दै उनले नाडामा सहमतिबाटै टिम छानियोस् भन्ने चाहेको बताए । आफू भोट हाल्नु केही क्षण अगाडिसम्म पनि सहमतिका लागि प्रयास जारी राख्ने उनले बताए । उनले आफ्नो टिम उद्योगीमुखी भएको पनि बताए ।
आफ्नो समूहमा अनुभव र जोशको उत्तम समिश्रण रहेको भन्दै उनले सोही कारण अनुकुलता र प्रतिकुलतामा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगाडि बढ्न सक्षम रहेको बताए । प्यानल घोषणामा चौधरी प्यानलमा रहेका सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पनि सहमतिको प्रयास गरिरहेको बताए । संस्थालाई बलियो, सुदृढ बनाउन पनि सहमति आवश्यक रहेको भन्दै उनले सहमति नभएमा प्रजातान्त्रिक रूपमा चुनावमा जानैपर्ने र जित पनि यही समूहको हुने दाबी गरे ।
नाडाको नयाँ नेतृत्वका लागि ध्रुव थापाले पनि बिहीबार प्यानल घोषणा गर्दैछन् । नाडाको नयाँ कार्यसमितिको निर्वाचन यही मंसिर २३ गते काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्