जुम्लाका दुई निर्वाचन क्षेत्रमा ३३ योजना स्वीकृत «

जुम्लाका दुई निर्वाचन क्षेत्रमा ३३ योजना स्वीकृत

जुम्लामा दुई निर्वाचन क्षेत्र छन् । यहाँका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठिचौर र पातारासी गाउँपालिका निर्वाचन क्षेत्र (क) मा पर्छन् भने, तिला हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका निर्वाचन क्षेत्र (ख) मा पर्छन् । निर्वाचन क्षेत्र (क) बाट पूर्वमन्त्री तथा सांसद नरेश भण्डारीले जितेका छन् भने, निर्वाचन क्षेत्र (ख) बाट सांसद पदम रोकायाले जितेका हुन् ।
दुवै निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि चालू आवमा ३३ वटा योजना स्वीकृत भएका छन् । पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत जुम्लाका दुवै निर्वाचन क्षेत्रमा निर्माण हुने गरी ३३ वटा योजना स्वीकृति भएको पूर्वाधार विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख टेक हितानले बताए । उनले भने, “पूर्वाधार विशेष कार्यक्रमका लागि आठ करोड बजेट विनियोजन भएको छ । जसमा निर्वाचन क्षेत्र (क) मा २२ र (ख) मा ११ वटा विभिन्न योजना निर्माण हुँदैछन् । प्रत्येक योजनामा कम्तीमा १० लाखदेखि बढीमा ८५ लाखसम्म बजेट छुट्याइएको छ ।”
साथै दुवैजना सांसदले आफ्नो निर्वाचन क्षेत्रका लागि दर्जनौ योजना पठाए पनि अन्तमा छलफल परामर्शमार्फत सांसदको सिफारिसमा अत्यावश्यक योजना निर्र्वाचन क्षेत्र (क) का लागि २२ र (ख) का लागि ११ वटा योजनामात्रै स्वीकृत भएर आएको निमित्त प्रमुख हितानको भनाइ छ ।
सबै योजना उपभोक्ता समितिबाटै निर्माण हुनेछन् । पूर्वाधार कार्यालयका सूचना अधिकारी समेत रहेका हितानले थपे, “अब योजना सम्झौताको कामलाई अघि बढाउँदै छौं । स्थानीयको आवश्यकताअनुसार कृषि, सिचाँइ, खानेपानी, विद्यालय भवन निर्माण, ग्रामीण सडक निर्माण, विद्युत आयोजना मर्मत, खेल मैदान निर्माणलगायतका संरचना पूर्वाधार विशेष कार्यक्रमबाट निर्माण हुनेछन् ।”
यसका साथै चालू आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयको नियमित कार्यक्रम सञ्चालनका लागि पुँजीगत बजेट २९ करोड ६५ लाख विनियोजन भएको सूचना अधिकारी टेक हितानले जानकारी दिए । सोही बजेटमा क्रमागत योजना निर्माण, नयाँ योजना निर्माण तथा मर्मत सम्भारका काम गरिने भएको छ भने, पूर्वाधार विशेष कार्यक्रमका लागि ८ करोड छुट्टै विनियोजन भएको छ ।
पूर्वाधार विशेष कार्यक्रममार्फत स्वीकृत भएका र पूर्वाधार कार्यालय तथा स्थानीय तहका योजना डुब्लिकेसन नहुने गरी योजना निर्माणलाई अघि बढाइने छ । अधिकांश योजना दोहोरिने, बजेट खर्च हुने तर उपलब्धि नदेखिने भएकाले योजना निर्माणमा पनि एकद्वार प्रणाली लागू भएको समेत पूर्वाधार कार्यालयका निमित्त प्रमुख टेक हितानले बताए ।

प्रतिक्रिया दिनुहोस्