तल्लो मोदी जलविद्युत आयोजना तीन महिनापछि सुचारु «

तल्लो मोदी जलविद्युत आयोजना तीन महिनापछि सुचारु

पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सुचारु भएको छ ।
गत भदौ १७ गते राती आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।
आयोजनाभन्दा माथिबाट आएको पहिरोले ठूलो क्षति पु-याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयरवाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत उत्पादन गृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।
उक्त आयोजनाको विद्युतगृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युतगृहमा पठाउने पानीको नहरको ५ सय मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत प्रसारण टावरसमेत पहिरोले ढालेको थियो ।
निर्देशक उपेन्द्र गौतमका अनुसार बाढी र पहिरोका कारण नोक्सान मात्रै पाँच करोडभन्दा बढी भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत उत्पादन नहुँदा थप दुई करोड आम्दानीसमेत घटेको उनले बताए । आयोजनाको मर्मत पूर्णरूपमा अझै नसकिएको गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्