विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालन «

विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालन


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालन भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो । बुधबार सो सटल बसको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले उद्घाटन गरे । मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगि नियन्त्रण गर्न भनिएको बताए । उनले पटक–पटक आफैले निर्देशन दिँदासमेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्र्नु परेको बताए ।
विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महँगो भएको धेरै यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उनले बताए । बस सेवा छोटो समयको लागि नभइै दीर्घकालिन रुपमा नै सञ्चालन गरिरहने मन्त्री आलेले बताए ।
“सटल बस सञ्चालनमा ल्याइनुअघि तीनपटक भन्दा बढी विमानस्थल प्रहरीलाई ट्याक्सीबाट हुने ठगी नियन्त्रण गरी मिटरबाट मात्रै यात्रु बोक्ने व्यवस्था गर्न निर्देशन दिएको थिएँ” उनलेभने, “ठगि नरोकिएपछि सरकारले नै यात्रुको सुविधाको लागि सटल बस सञ्चालनमा ल्याएको छ ।” पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगि वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गरे । उनले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको मँहगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीहरुले भने अटेर गरेको पनि बताए ।
त्यसैगरी वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि सुरुवात भएको छ । विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगिमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए । नेपाली श्रमिक विदेशी मुलुकको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने गरेपनि उनीहरुका लागि राज्यबाट विदेश जानका लागिसमेत कुनै सुविधा प्रदान नगरेको उनले बताए ।
“विश्राम घर वैदेशिक रोजगारीमा जाने यात्रु विदेश जानुअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता हटाउन बनाइएको हो” उनले भने, “कम्तिमा विदेशबाट आउँदा र जाँदा सुविधाले विश्राम गरेर जान पाउने व्यवस्थाको लागि यो काम गरिएको हो। तत्कालका लागि २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय व्यक्ति अटाउने क्षमताको बनाउने योजना छ ।”
अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा निःशुल्क यात्रा गर्न पाउने छन् । सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्