‘एमडिएमएस तत्काल लागु हुन्छ’ «

‘एमडिएमएस तत्काल लागु हुन्छ’


अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका छन् ।
नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा बुधबार अर्थमन्त्री शर्माले विभिन्न देशबाट अवैधरुपमा आयात हुने मोबाइल फोनलाई रोक्न एमडिएमएस तत्काल लागु हुने घोषणा गरेका हुन् । उनले भने, ‘मैले अवैध रुपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागु हुने एमडिएमएसबारे हिजो मात्रै थाहा पाएँ । तत्काल लागु गर्न निर्देशन दिइसकेको छ, तत्कालै लागु हुन्छ ।” तर, वैध रुपमै धेरै मोबाइल फोन आयात भइरहेको प्रसंग कोट्याउँदै उनले भने, “केलाई अबैध भन्ने हो ? यहाँ त वैध रुपमा अवैध आयात भइरहेको छ । मैले केही दिन अघिदेखि मन्त्रालयका अधिकारीलाई अवैध सुन आयातलाई अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अवैध सुन आयात भइरहेको छ । यसैगरी मोबाइल फोन पनि आयात भइरहेको प्रतिवेदन आएको छ ।”
उनले विदेशबाट वैधानिक रुपमा नै दैनिक हजारौं मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न भने कठिन रहेको बताए । विभिन्न देशहरुबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अवैध रुपमा आयात भइ बिक्री वितरण भइरहेको स्वीकार गर्दै मन्त्री शर्माले यसलाई व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मोबाइल फोनको अवैध आयात रोक्न सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए । उनले अहिले मोबाइल फोन अवैध रुपमा आयात भइरहेको बताउँदै अर्थतन्त्रलाई व्यस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि अवैध आयात रोक्नैपर्ने बताए ।
व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागु गर्नु अनिवार्य सर्त भएको बताए । उनले भने, “चालू आर्थिक वर्षको बजेट दस्तावेजमै समेटिएको विषय भएकाले एमडिएमएस लागु हुनेमा हामी ढुक्क थियौं । तर त्यसो हुन सकेन । अब बल्ल लागु हुन्छ भन्ने विश्वास लागेको छ । मोबाइल बजार व्यस्थित गर्न यो अनिवार्य सर्त हो ।”
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए । शाहले भने, “मोबाइल फोन बिलासिता होइन । यति लामो लकडाउनमा सूचना र सञ्चारमा पनि मोबाइल फोनको ठूलो योगदान छ ।”
नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागु गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिवद्धता जनाए ।
सशस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गौतमले पनि सीमा क्षेत्रमा हुने अबेध निकासी पैयठारीलाई रोक्न संगठन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्