Logo

अझै पनि खुला आकाशमुनि पढ्न बाध्य छन् बालबालिका

महेश न्यौपाने

रोल्पा-आगलागी भएको लामो समयसम्म भवन पुनर्निर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । रोल्पा नगरपालिका–१ धारपानीमा रहेको कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षा कोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन ।
गत असोजमा भएको आगलागीबाट विद्यालय भवन जलेसँंगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ वटा कोठा जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट फर्निचर तथा विद्यालयको अन्य सामान पनि जलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले जानकारी दिए । विद्यालय भवन जलेको लामो समय बित्दासमेत पुनर्निर्माणका लागि कसैको ध्यान नजाँदा बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको महराले बताए । “विद्यालय भवन तत्काल पुनर्निर्माणका लागि रोल्पा नगरपालिकासँंग आग्रह गरे पनि सुनुवाइ भएन,” अध्यक्ष महराले भने । लुम्बिनी प्रदेश सरकारले केही बजेट विनियोजन गरेको भन्ने हल्ला सुने पनि काम सुरुवात नहुँदा सम्म विश्वास गर्ने अवस्था छैन अध्यक्ष महराले भने ।
गर्मी मौसमको टन्टलापुर घाम पार गरेका बालबालिकाले हिउँदको कठाँग्रिने जाडोमा खुला आकाशमुनि वसेर पढ्न बाध्य हुने गरेको कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक थामवहादुर कँवरको भनाइ छ । जाडो विस्तारै बढ्दै छ पुस माघको जाडोमा समेत खुला आकाशमा पढाउनु पर्ने अवस्था देखिँदैछ कँवरले भने ।
आगलागीले कक्षाकोठा जलेपछि आफूहरु खुला आकाशमुनि पढ्न बाध्य भएको कक्षा ५ की छात्रा अनिता विकले दुःखेसो पोखिन । “खुला आकाशमुनि बसेर पढ्दा घाम, पानी र जाडोले सताउने गर्छ,” विकले भनिन् । कक्षा कोठामा जस्तो खुला आकाशको पढाइ सहज नभएको विकको भनाइ छ ।
कक्षा ४ सम्मका विद्यार्थीलाई अर्को भवनमा पढाउँदै आएको भए पनि कक्षा ५ का विद्यार्थीलाई कक्षा कोठा नपुगेका कारण खुला आकाशमुनि पढाउनुको विकल्प नभएको विद्यालयको भनाइ छ ।
सरकारी निकायबाट सहयोग नभए पनि छिमेकी विद्यालय बालकल्याण नमुना माविले सो विद्यालयलाई फर्निचर सहयोग गरेको छ । आगलागीबाट विद्यालय भवनसहित फर्निचरसमेत नष्ट भएको हुँदा आफूहरूले १० थान डेस्क बेन्च सहयोग गरेको बालकल्याण नमुना माविका प्राचार्य मधुसूदन पोख्रेलले वताए । आर्थिक स्रोत अभाव रहेको सो विद्यालयले आगलागीबाट भवन, फर्निचरलगायत अन्य सम्पत्तिको क्षति भएको भन्दै सहयोगका लागि सबै पक्षसँंग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्