‘सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन माग’ «

‘सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन माग’

दाङ-घोराही उपमहानगरका नागरिकले नागरिकले सहजरूपमा सेवा लिन सक्ने वातावरण बनाउन माग गरेका छन् । उप महानगरपालिका भएको लामो समय भए पनि सेवा सुविधामा सुधार आउन नसकेको उनीहरूको भनाइ छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा आर्थिक वर्ष २०७८-०७९ को प्रथम चौमासिक सार्वजनिक सुनाइ कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै विनोद केसीले विकास निर्माणका काम गर्दा योजनाअनुसार काम गर्नुपर्ने बताए । सडक पिच गरेर नाला बनाउने कार्य भइरहेको हुँदा नाला बनाउँदा सडक फेरि बिग्रने भन्दै पहिला नाला बनाएर मात्र सडक कालोपत्रे बनाउनु पर्ने उनको भनाइ थियो । यसका लागि उप महानगरपालिकाले विशेष ध्यान दिन आवस्यक रहेको उनको भनाइ छ । “योजना छनोट गर्दा बस्तीस्तरसम्म पुगेर योजना छनोट गरिनु पर्दछ,” उनले भने । तर त्यसो हुन नसेको उनी बताउँछन् । भवन निर्माण गर्दा नक्सा पास गर्नका लागि नागरिकले धेरै रकम तिर्नुपर्ने गरेको बताए । यसलाई सबै नागरिकको पँहुचसम्म पु-याउन सस्तो बनाउनु पर्ने उनको भनाइ थियो । नगरका स्वास्थ्य संस्थामा समयमा नै औषधि पठाउने व्यवस्था मिलाउनसमेत उनले आग्रह गरे । समयमा नै औषधि नपठाउँदा नागरिकले धेरै समस्या भोग्नु परेको उनले बताए । टोल विकास संस्थालाई प्रभावकारी बनाउन पनि उनले माग गरे ।
साधुनारायण अधिकारीले उपमहानगरपालिकाबासी भए पनि नागरिकले सहज रूपमा सेवा पाउन नसकेको बताए । “उपमहानगर भए पनि नागरिकले उपमहानगरपालिकाबाट पाउनु पर्ने सेवा सुविधा पाउन सकेनन्,” उनले भने । नगर क्षेत्रमा रहेका खाडलका कारण दुर्घटना हुँदा धेरै नागरिकले ज्यान गुमाउनु परेको उनले बताए । नगर क्षेत्रमा रहेका खाडल पुर्नका लागि नगरपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ । जनप्रतिनिधिहरूले आफूहरूले चुनावमा गरेका वाचा पूरा गर्न नसकेको अधिकारीले बताए । “चुनावी घोषणापत्रमा भएका कुरा कार्यान्वयन हुन सकेनन्,” उनले भने । विकास निर्माणका कार्यले गति लिन नसकेको भन्दै विकासमा काम लाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो ।
नागरिक समाज दाङका हरिप्रसाद पाण्डेले सार्वजनिक सुनाइ कार्यक्रममा नागरिकको सहभागिता कम भएको बताए । उनले दाङलाई मरुभूमीकरण हुनबाट बचाउन खोलाहरूमा हाइड्याम निर्माण गरिनु पर्ने बताए । नगरपालिका हुँदा सुरु गरिएको चक्रपथलाइ नयाँ सीमांकनसहित अगाडि वढाउनसमेत उनले आग्रह गरे ।
घोराही–१८ का सुरेश बुढा मगरले बिग्रिएको गाडीमा तेल हालेको बारे बाहिर आएको समाचारका बारेमा यथार्थ जानकारी गराउनु पर्ने बताए । नगरबासीले तिरेको करको दुरुपयोग हुन नहुने भन्दै उनले दोषीलाई कारबाही माग गरे । घोराही उपमहानगरपालिका–१८ को कार्यालय निर्माण सम्पन्न भए पनि वडा कार्यालयबाट सेवा सुरु हुन नसकेको भन्दै तत्काल वडा कार्यालयबाट नै कार्यालय सञ्चालन गरिनु पर्ने उनको माग छ ।
घोराही–१४ का अनिल सेर्पाइलीले व्यवसायीहरूले तिर्नुपर्ने दोहोरो कर अन्त्य हुनुपर्ने बताए । यसले व्यवसायीहरू मारमा पर्ने गरेको बताए । कार्यक्रममा बोल्ने अन्य सहभागीले ग्रामीणस्तरसम्म पुग्ने सडक मर्मत गर्न उपमहानगरपालिकाले ध्यान दिनुपर्ने, नागरिकको आवस्यकताको आधारमा योजना छनोट गरिनुपर्ने, नागरिकलाई सहजरूपमा सूचना प्रदान गरिनु पर्नेलगायतका सुझाव दिएका थिए ।
नागरिकबाट आएका प्रश्नको उतर दिँदै उपप्रमुख सीता सिग्देल न्यौपानेले योजनाको माग धेरै तर बजेट कम हुँदा समस्या हुने गरेको बताइन् । “सबैको आवस्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले थोरैथोरै भए पनि बजेट विनियोजन गर्ने गरेका छौं,” उनले भनिन् । सम्पूर्ण नगरबासीको सहयोगले नै नगरको विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले टुक्रे योजना हुँदा काम गर्न समस्या हुने गरेको बताए । टुक्रे योजनाभन्दा पनि योजना बनाएर विकास गर्न आवस्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्