छिरुवा बजार सुनसान, होटल तथा पसल भएका घरमा चाबी «

छिरुवा बजार सुनसान, होटल तथा पसल भएका घरमा चाबी

ताप्लेजुङ-जिल्ला सदरमुकामदेखि एकदिनको पैदल दूरीमा अवस्थित छिरुवा बजार कुनै बेला व्यापारिक केन्द्र थियो । जिल्लाको उत्तरी क्षेत्रका गाउँबस्तीदेखि चीनसँग सीमा जोडिएको ओलाङचुङगोलासम्मका बासिन्दाको दैनिक उपभोग्य सामग्री किनबेच गर्ने थलोका रूपमा छिरुवा बजारको परिचय थियो । अझ कंञ्चनजंघा बेसक्याम्प जाने मुख्य पैदलमार्ग पनि भएकाले ट्रेकिङ क्याम्प अनिवार्य हो । तर समयक्रमसँगै छिरुवा बजार छिचोलेर तमोर नदीको किनारै किनार सडक बनेसँगै न चहलपहल छ, न त विदेशी पर्यटकको आवतजावत नै । गाडीमार्फत ३ घण्टा यात्रामा पुगिने छिरुवा बजार सुनासान बनेको छ ।
वि.सं २०३१ सालमा छिरुवा बजारमा होटल तथा पसल सञ्चालन गर्ने पहिलो व्यक्ति हुन् लालबहादुर राई । उनले तमोर नदीको किनारमा पर्ने छिरुवामा वरिपरि ठूलाठूला ढुंगाको बीचको भागमा भएको जमिनमा घर बनाएर व्यवसाय सुरु गरेका हुन् । अहिले करिब होटल र घर गरी एक दर्जन जति छ । तीनै राई यतिबेला ८२ वर्षका भए । २०७६ सालतिर छिरुवा हुँदै तापेथोकसम्म सडकको ट्रयाक खोलिएसँगै सवारी साधन गुड्न थालेकाले बजार सुनसान बनेको छ । राईले भने, “स्वदेशी र विदेशीले होटल भरिएको हुन्थ्यो । तर सडक बनेसँगै सुनसान बन्यो ।” सडक पुगेको ठाउँसम्म दैनिक उपभोग्य सामग्री नुनदेखि सुनसम्म पाइन्छ ।
सडक बनेसँगै न पहिलोजस्तो पसल चल्छ, न त होटलमा बास बस्ने मान्छे नै हुन्छन् । विदेशी पर्यटक र तिनका भरिया उनले नदेखेको २-३ वर्षजति भएको राईले अुनभव सुनाए । सर्वसाधारणदेखि पर्यटकसमेत सडक पुग्ने ठाउँसम्म गाडीमा यात्रा गर्ने भएकाले विगतजस्तो चहलपहल छैन । तथापि उमेरमा दार्जिलिङको विजनबारीदेखि नुन बोकेर खानुपरेको दुःख सम्झदै उनले घरआगनमै सडक बनेकोमा औधि खुसी लागेको नले सुनाए । । उनले भने, “छिरुवा बजार ठप्प भएर के भो त । बरु बोर्डरसम्मै गाडी पुगोस् । सडकसँगै सुविधा पनि त पुग्छ !”
छिरुवाकै ६० वर्षीया दिलमाया राईको दैनिकि आजभोलि फेरिएको छ । सडक नहुँदा बिहान झिसमिसैमा उठ्ने अनि राती अबेरमात्र सुत्ने गर्थे । किनकि राती अबेरसम्म बास बस्न आउनेदेखि एकाबिहानै हिड्नेसँग हिसाबकिताब गर्नुपर्ने हुन्थ्यो । बास बस्ने र विदेशी पर्यटकका भरियाले बेलुकी घिन्ताङ घिन्ताङ मादलको तालमा गाउने गीतले छिरुवा बजार गुन्जयमान बनाउँदा अरु जस्तै उनी पनि नाचगानमा रमाउँथिन् । तर सडक बनेसँगै उनको काम घरको रेखदेख गर्नेबाहेक केही छैन । छोराबुहारी र छिमेकी दिउँसो काममा जाने भएकाले घरमै खत्राकखुत्रुक गरेर बस्ने गरेकी छन् ।
हुनत सडक बनेपश्चात छिरुवा बजारमात्र सुनसान बनेको होइन । दुर्गम क्षेत्रका अधिकाँश चोक–चोकमा खुलेका बजारका पसलमा कारोबार छैन । छिरुवा बजारका व्यवसायीले पनि त्यही नै बुझेका छन् । बिहान बेलुकी व्यापार व्यवसायमा व्यस्त हुने तिनै छिरुवाका होटल तथा पसल गर्ने वैकल्पिक पेसातिर मोडिएका छन् । छिरुवाका २-३ घरबाहेक अधिकाँश घरमा दिनको समयमा चाबी लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्