हाम्रो लोकतान्त्रिक प्रणाली स्खलित हुँदैछ «

हाम्रो लोकतान्त्रिक प्रणाली स्खलित हुँदैछ

महेश आचार्य
नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै छ । देशैभरका अधिवेशनबाट विभिन्न प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधि चुनिने क्रम जारी छ । तर, महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा गुटगत राजनीति पनि फैलँदै छ । यस्तै, मंसिर अन्त्यमा हुने भनिएको केन्द्रीय महाधिवेशनको प्रतिनिधिका लागि कांग्रेसभित्र धेरै आकांक्षी देखिएका छन् ।
नेतृत्व फेरबदल हुनुपर्ने, पार्टीको विधिविधानअनुसार काम गर्ने, संगठन विस्तारमा खटिने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने बहस कांग्रेसभित्र चलिरहेको छ । जिल्ला अधिवेशनमा भएको तँछाडमछाडले केन्द्रमा पनि सहमति नजुट्ने निश्चित छ । यसैबीच आसन्न कांग्रेसको महाधिवेशनमा नेता महेश आचार्यले उपसभापतिको उम्मेदवार बन्ने निर्णय गरेका छन् । आचार्य नेपाली कांग्रेसभित्र विचारमा प्रस्टता भएका र कुनै बेला नेपाली कांग्रेसमा सबै नेताले चाहेका नेता हुन् । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पराजय भएपछि चुपचाप बसेका आचार्यसँग नेपाली राजनीति विशेषतः नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्य तथा सान्दर्भिकताका बारेमा कारोबार दैनिकका सम्पादक कुबेर चालिसे र कारोबारकर्मी सागर परियारले गरेको कुराकानीको सार :

तपाईं नेपाली कांग्रेसको आसन्न अधिवेशनमा उपसभापतिमा उठ्छु भन्नुभयो । तपार्इंंको उम्मेदवारी किन ?
हाम्रो पार्टीमा गुटगत राजनीति असाध्यै गहिरिँदै गएको देख्छु । धमिराले खाएको देख्छु । देशको पुरानो पार्टी, यत्रो ठूलो कार्यभार, जिम्मेवारी बोकेको लोकतन्त्र, राष्ट्रियताको संवद्र्धन गर्ने पार्टी भित्रभित्रैबाट केही समयदेखि गुटगतको भासमा फसेको छ । संस्थागत समर्थन र संरचनाको आधार खस्किँदै गएको देख्छु । त्यसैले चार–पाँच विषयमा मेरो ध्यान केन्द्रित भएको छ । यो गुटगत राजनीति किन भइरहेको भन्नेबारेमा यसका केही पुराना ऐतिहासिक कारण पनि होलान् ।
नेताको नाममा समूह बनेका होलान् । त्यो समस्या बनेको छ । हाम्रा निर्णय र विधानका प्रावधानले पनि गुटगत राजनीतिलाई बल पु¥याएको छ । जस्तो एउटा सभापतिले एक कार्यकाल पूरा गरेपछि एक वर्ष कार्यकाल थप्ने व्यवस्था छ । पाँच वर्षपछि फेरि दोहोरिने र अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्ति छ । यसलाई रिभ्यू गर्नुपर्ने देखिन्छ । एउटै व्यक्तिलाई शक्तिमा दोहो¥याउँदा पनि गुटगत राजनीति बढेको देखिन्छ । तल्लो तहमा समाधान हुने समस्या पनि केन्द्रमै ल्याउने प्रवृत्ति छ । यो प्रवृत्ति बदलिने गहन बहस राख्न चाहन्छु ।
दोस्रो, हाम्रो नेपाली कांग्रेस पार्टीमा बहुपदको सृजना गरिएको छ । सभापति, उपसभापति, महामन्त्री, उपमहान्त्री पदको सिर्जना गरिएको छ । बहुपदकै कारण निर्वाचनमा गुटगत राजनीति बढेको छ, जसका कारण पार्टी विभाजित हुने समस्या नै बहुपदको सिर्जना हो । तीनै तहका सरकारमा विभिन्न पदका लागि गुटगत राजनीति बढेको मैले देखेको छु । बहुपद पद्धतिले कांग्रेस पार्टीमा गुटगत राजीतिले अझ बल पाएको देखिन्छ ।
हाम्रो निर्वाचन प्रणालीमा विचार पु¥याउनुपर्छ कि ? विभिन्न पदका छुट्टाछुट्टै निर्वाचन गर्दा अझ गुटगत राजनीति बढ्छ । चुनाव विचारको स्वच्छ प्रतिस्पर्धा भए पनि गुटगत राजनीति बढ्छ, त्यसैले निर्वाचन पद्धतिलाई दूषित हुन नदिन यसमा विचार गर्नुपर्छ ।
तेस्रो कुरा, ठूलो समूहमा निर्णय गर्ने, पारदर्शी रूपमा सार्वजनिक गर्ने, केन्द्रीय कार्यसमितिमा छलफल गर्ने सिस्टम कांग्रेसमा रोकिएको छ । सानो समूहमा मात्रै छलफल र निर्णय गर्ने संस्कार बसको छ भने पार्टीभित्र बौद्धिक गहन छलफल हुन छोडेको छ । विधानले निर्णय गर्ने अधिकार कार्यसमितिलाई दिएको छ । तर, त्यसको अधिकार विपरीत सानो वृत्तमा पदाधिकारीज्ञबीच मात्रै छलफल, बहस हुने गरेको छ । केन्द्रीय कार्यसमितिको संख्या बढाए पनि पनि अझ बहस, छलफल, निर्णयहरू पदाधिकारीमा मात्रै सीमित भएको देखिन्छ ।
चौथो डरलाग्दो समस्या भनेको विचार र नीतिमा आधारित रहेर नेता चयन गर्ने भन्दा पनि व्यक्तिको लाइक र डिसलाइकका आधारमा नेता छनोट गर्ने प्रवृत्ति बढेको छ ।
विचार, नीतिबेगर नेता छनोट गर्ने प्रवृत्ति बढेको छ । यस्ता तमाम समस्या पार्टीभित्र छन् । यी विषय गम्भीरतापूर्वक उठाउन आवश्यक छ । तर, छलफल कसरी गर्ने भन्ने छ । कसरी सुधार गर्ने भन्ने मुख्य समस्या छ । मैले यी विषयमा छलफल गर्ने मन्च प्लेटफर्म खोजेको छु । हाम्रो पार्टीभित्र यस्ता विषयमा छलफल गर्न हाम्रो विधानले उपसभापतिलाई पार्टीको नीति, विधानअनुसारको विभिन्न छलफल गर्न, वैचारिक बहस गर्न विभिन्न समस्या समाधान गर्न जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारी र संरचनाअनुसार सबै साथीहरू आफ्ना विचार राखेपछि समस्या समाधान हुनसक्छ । पार्टीभित्रका यस्ता समस्याहरूको सम्बोधन गर्न, अन्तरनिहित सम्बन्ध कायम गर्न, विधानले दिएको जिम्मेवारी र संरचनालाई कार्यान्वयन गरी पार्टीलाई अगाडि बढाउने दृढ सोच, उद्देश्यका साथ म आफ्नो उम्मेदवारी प्र्रस्ताव गर्ने तयारीमा छु ।
यसमा पनि तीनवटा राष्ट्रिय समस्याले म चिन्तित भएको छु ।
यत्रो वर्ष मैले राजनीति गरें । मलाई पार्टीले पनि ठूलो लगानी गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव बटुल्ने जिम्मेवारी र अवसर पनि पाएको छु । नेपाली कांग्रेसले राष्ट्रिय बहसको नेतृत्व गर्नुपर्ने हालको अवस्था छ । पहिलो र दोस्रो लहरको कोरोनाले देशको अर्थतन्त्रमा ठूलो असर पुगेको छ । कोरोनाले सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । लाखौं युवाले रोजगारी गुमाएका छन् । तर, यसबाट देशलाई मुक्ति दिन, आर्थिक पुनःस्थापना तथा नागरिकको जनजीवन उकास्नका लागि राष्ट्रिय बहस अझै हुन सकेको छैन । कोरोनाको प्रभाव करिब एक दशकसम्म पर्ने देखिन्छ । त्यति बेलासम्म पनि हामीले बहस सुरु गर्न सकेनौं भने हाम्रा उद्योग, कलकारखाना, पर्यटन क्षेत्र, रोजगार क्षेत्रलगायत सबै अस्तव्यस्त हुने निश्चित छ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तन, कृषि उत्पादनमा आएको गिरावट, कार्बन उत्सर्जन नगर्ने लगायतका विषयमा बहसको थालनी हुन सकेको छैन । विश्वमा जलवायु परिवर्तनले ठूलो असर देखापरेको छ ।
त्यस्तै नेपालमा पनि जलस्रोत सुक्दै जाने, उत्पादन घट्दै जाने समस्या पनि देखा परेको छ । तर, यी विविध विषयमा राष्ट्रिय बहस हुन सकेको छैन । यस्ता बहसको थालनी, कसले गर्ने भन्ने पनि यकिन छैन । साथै, देशको राष्ट्रिय राजनीति पनि उथलपुथल छ । जनताले दुईतिहाइ दिए पनि दीर्घकालीन सरकार सञ्चालन हुन सकेको अवस्था पनि छैन । संसद् चल्न पनि सकेको छैन । न्यायालय त्यस्तै विवादित छ । हाम्रो पार्टीको महाधिवेशन हुँदै छ । देशभरिबाट हजारौं कार्यकर्ता सहभागी हुँदै छन् । त्यति बेला यस्ता विषयमा गहन छलफल तथा बहस हुन सकेन भने पुरानो तथा लोकतन्त्रको रक्षक भएको नेपाली कांग्रेस पार्टीको कुनै अर्थ रहँदैन । राष्ट्रिय एकता कायम, राष्ट्रिय अस्तित्व संरक्षण, परराष्ट्र नीति कार्यान्वयन, जनजीविका सुधारलगायतका विषयमा छलफल र बहस गरी नीतिगत व्यवस्था गर्र्ने एकमात्र पार्टी नेपाली कांग्रेस बनाउनु नै मेरो उम्मेदवारीको औचित्य हो । निर्वाचनमा हारजित भन्ने अवश्य हुन्छ । तर, पार्टीभित्र राष्ट्रिय समस्या समाधान मुख्य एजेन्डा हुनुपर्छ भन्ने नै मेरो मान्यता हो ।

पछिल्लो एक दशकमा हेर्ने हो भने नेपालका सबै राजनीतिक दलहरूमा विचार हैन, व्यक्तिमात्र हावी छन् । विचारबिनाका पार्टीहरूले हाँकेको देशमा तपार्इंलाई विश्वास छ, यस्ता खालका बहस, छलफल हुन्छन् ?
तपाईंले भनेको सत्य हो । वैचारिक बहस र विचारको राजनीति किनारा लाग्दै गएको छ । तर, देशमा सम्भावना छैन भन्ने होइन । खासगरी मेरो पार्टीको सन्दर्भमा भन्दा युवा पुस्ताहरू राजनीतिमा होमिनका लागि ढोका घचघच्याइरहेका छन् । तर, ढोका भने बन्द छ । यस्ता विषयमा छलफल, बहस गर्ने उच्च तहको प्लेटफर्म भने छैन । पार्टीभित्र विचार, सिद्धान्त भएका मान्छे नै छैनन् भन्न खोजेको पनि होइन ।
तर विचार, सिद्धान्त भएर पनि छलफल, बहस, विचार–विमर्श गर्ने उचित प्लेटफर्म, मञ्च नहुँदा हाम्रा विचार किनारा लागेका मात्र हुन् । विचारबिनाको राजनीतिको कुनै अर्थ छैन । अर्को कुरा, राष्ट्रिय राजनीति र सम्बन्धित समस्या समाधानका लागि मेरो पार्टीभित्र पनि छलफल गर्नुपर्छ, विचार–विमर्श गर्नुपर्छ । विचार सबै पार्टी, राजनीतिकर्मीमा आवश्यक छ ।
तर राष्ट्रिय बहसका लागि भने नेपाली कांग्रेस पार्टीले नेतृत्व गर्नुपर्छ भन्ने मान्यता हो । पार्टीमा आबद्ध नभएका बाहिर रहेका व्यक्तिहरूसँग पनि आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरणको ज्ञान भएका व्यक्ति छन् । निश्चित समूहमा मात्रै सीमित हुने, छलफल नभई पार्टीभन्दा बाहिर रहेका विज्ञ व्यक्तिहरूका महŒवपूर्ण कुरा समेट्ने खालका विषयमा बहस हुनु आजको आवश्यकता हो ।
तर, बाहिरको राम्रोलाई स्वीकार गर्न सक्ने नेपाली राजनीतिक संस्कार छैन । नेपालको राज्य व्यवस्थापन प्रणालीबाट नेपाली जनता खुसी छैनन् । किनकि देशको विकास गर भनेर कम्युनिस्टहरूलाई जनताले दुईतिहाइ बहुमत दिएकै हुन् । तर, सत्ता र शक्तिका लागि जनताको मतको कदर नगरी कम्युनिस्ट आन्दोलनलाई टुक्रा–टुक्रा गरी देशमा ठूलो राजनीतिक समस्या खडा गरे । कांग्रेसभित्र गुटको राजनीति चुलिँदै गयो । यस्ता गतविधिले आमजनता खुसी छैनन् ।
विचार–विमर्श, छलफल नभएकै कारण नेपालमा कुनै सरकार पाँच वर्ष टिक्न सक्दैनन् । अहिले पनि गठबन्धनको सरकार चल्दै छ । त्यो संसद् नियमित चल्न सकेको छैन । उता न्यायालयको झमेला उस्तै छ । न्याय सम्पादनदेखि न्यायाधीश नियुक्ति तथा मुद्दाको व्यापारसम्मका आरोप लगाएर न्यायालय विवादमा तानिएको छ । न्यायालयप्रतिको विश्वास पनि घट्दै गएको छ । यस्ता विषयको समाधान खोज्न पनि राष्ट्रियस्तरको बहस अत्यावश्यक नै छ ।

तपाइले भनेजस्तै, पछिल्लो समय न्यायालयको समस्या समाधानका लागि नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले किन पहल गर्न सकेन ? यदि त्यो आरोप सही हो भने संसद् खोलेर महाअभियोग लगाउनुप¥यो अथवा न्यायाधीशहरूलाई न्यायालयको विश्वास नघटाउन निर्देशन दिनुप¥यो । एकातिर महाअभियोग पनि लगाउन नसक्ने, समाधान खोज्न पनि नसक्ने राजनीतिक दलको के काम ? राजनीतिक दल भीडको पछि लाग्ने हो कि भीडको नेतृत्व गर्ने हो ?
तपाईंले भन्नुभएको कुरा शतप्रतिशत सही छ । अहिले नेपाली कांग्रेस सत्तामा छ । सरकार चलाइरहेको छ । त्यसैले न्यायालयको समस्या समाधानका लागि भीडको पछि लाग्ने होइन, भीडको नेतृत्व गर्ने । तर, देशमा हुने कुनै पनि समस्या समाधानका लागि न त सत्तावालासँग सही विचार छ, न त प्रतिपक्षीसँग छ । देशको न्यायालयमा यति ठूलो समस्या हुँदा पनि सबै पार्टीभित्र उदासीनता छ, मौनता छ । यस्ता कुराले म चिन्तित छु ।
हामीले यस्ता विषयलाई अहिले नै समाधान नगरेपछि पछिको पुस्ताले के गर्ने, राजनीतिक संस्कार सिक्ने भन्ने नै ठूलो चुनौती छ । राष्ट्रिय रूपमा आइपर्ने न्यायालयलाई नै हो । राजनीतिक, सामाजिक जुनसुकै समस्याको समाधान विचार, विमर्श र छलफलबाटै सबै पार्टी मिलेर गर्नुपर्छ र त्यसको नेतृत्व नेपालको पुरानो ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले गर्नुपर्छ भन्ने पनि मेरो प्रयास हो । हाम्रो लोकतान्त्रिक प्रणाली स्खलित हुँदै छ । सत्ता पनि बल प्रयोगले डराउने अवस्था छ ।
राजनीतिक न्यायालयको समस्या त छँदै छ । जल्दोबल्दो समस्या कोभिडपछिको राहत, उद्धार तथा पुनस्र्थापनको कुरालाई भने अहिलेको सरकार र प्रमुख राजनीतिक दलहरूले समेत नजरअन्दाज गरिरहेका छन् । यस्ता विषयमा पनि हामी चुक्नु हुँदैन, ढिलासुस्ती गर्नु हँुदैन भन्ने मेरो सोचाइ छ ।

नेपालमा नेपाली कांग्रेसलगायत अन्य पार्टी, नागरिक अधिकार तथा स्वतन्त्रताका लागि गठन भए । २०६२-०६३ सम्म आउँदा सबै पार्टीका कमबेसी उद्देश्य प्राप्त भए । अब संविधान आइसकेपछि, संघीयता आइसकेपछि यी पार्टीहरूको उद्देश्य नै नभएको हो ? अहिलेको राजनीतिक शून्यता त्यही हो ?
अन्तर्राष्ट्रिय अनुभवले के भन्छ भने नयाँ विचार र नयाँ एजेन्डा बोकेर पुराना पार्टीहरूसँग प्रतिस्पर्धा गर्न नयाँ पार्टी आएको, नयाँ पार्टी ल्याएको, गठन भएको अभ्यासहरू पनि हामीले देखेका छौं । युरोपका पार्टीको राजनीतिक घटनाक्रम अध्ययन गर्ने हो भने नयाँ विचार र सिद्धान्त बोकेर नयाँ दल आएको देखेका छौं ।
त्यसैले तपाईंले भनेको चाहिँ सत्य हो । पार्टीको स्थापनाकालमा राणाकालको जहानियाँ शासन प्रणालीविरुद्ध वकालत गर्ने, नागरिकका हक–अधिकार, स्वतन्त्रताका लागि लड्ने भनेरै चाहिँ हाम्रो पार्टी स्थापना भएको हो । आर्थिक, सामाजिक, राजनीतिक, लैंगिक असमानताको अन्त्य गरी समता कायम गर्ने, रोजगारी सिर्जना गर्ने, निःशुल्क स्वास्थ्य, शिक्षा सुनिश्चितता, सुरक्षित आवास, सुरक्षाजस्ता एजेन्डाहरू बोकेर आफ्नो विश्वसीनयता कायम गरी देशका सबै राजनीतिक दलहरूले समय र परिवेशअनुसार राजनीतिमा नयाँ आयाम थप्नुपर्छ । हामीले लोकतन्त्र भनेर मात्रै हुँदैन । अब डेलिभरी लोकतन्त्र चाहियो ।
आवास नहुनेलाई आवास, समग्रमा आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने राजनीतिज्ञ आवश्यक छ । वर्तमान समयमा कोभिडले देशको अर्थतन्त्र धराशायी भएको छ । शिक्षा क्षेत्र अस्तव्यस्त छ । लाखौंको रोजगारी गुमेको छ, लगानी डुबेको छ । निःशुल्क स्वास्थ्य शिक्षाका नाममा व्यापार भइरहेको छ । यस्ता विषयमाथि छलफल गर्ने, यस्ता विषयलाई मूल एजेन्डा बनाउने पुराना पार्टीहरूको दायित्व, कर्तव्य हो । हैन, तपार्इंले भनेजस्तै देशका नयाँ आयामसहित, एजेन्डासहित वैकल्पिक पार्टी, वैकल्पिक शक्ति थपिने क्रम जारी रहन्छ ।
तर, मलाई के लाग्छ भने यी सबै कुरा नेपाली कांग्रेसको बहसभित्र लिन सक्छौं । जनताका चाहनाका एजेन्डा लिन सक्छौं । राजनीतिमा उदाउँदै गरेका युवा पुस्तालाई यी विविध विषयमा साक्षात्कार पनि गराउन सक्छौं । यो भनेजति सहज पनि छैन । कठिन कुरा छ ।
तर असम्भव पनि छैन । फेरि पनि भन्छु, नेपाली कांग्रेस पुरानो, ऐतिहासिक, लोकतान्त्रिक पार्टी भएको नाताले पनि बौद्धिक चिन्तन हामीले नै लिनुपर्छ । इमानदारीपूर्वक काम गर्ने हो भने समस्या समाधानको थालनी पनि हामीले गर्न सम्भव छ । यसका लागि युवा पुस्ताको साथ, सहयोग आवश्यकचाहिँ पर्छ ।

तर, काँग्रेसको राष्ट्रियता केपी ओलीले तथा समाजवाद पुष्पकमल दाहालले चोरे अनि सिद्धान्तविहीन भएका कारण नेपाली कांग्रेसमा युवाको रुचि छैन भन्ने आरोप पनि छ । आजको मितिमा युवाहरूमा नेपाली कांग्रेसप्रति आकर्षण किन कम ?
हामीले प्रयास गर्ने हो । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्रको आफ्नै भाव छ । केपी ओलीले राष्ट्रियता भन्नुहुन्छ, भन्नुभयो । उहाँको राष्ट्रियताको भाव गलत छ । राष्ट्रियता एउटा सकारात्मक अवधारणा हो । तर, पछिल्लो समय कुनै पार्टीको एजेन्डा बनेको छ, जस्तो केपीजीको राष्ट्रियतालाई लिन सकिन्छ । यस्तो राष्ट्रियताले देशको भन्दा व्यक्तिको हित बढी हुन्छ । प्रचण्डजीले भन्ने समाजवादसँग पनि म सहमत छैन । उनीहरूले गर्ने हिंसात्मक समाजवाद हाम्रो समुदायले पचाउँदैन । तसर्थ हाम्रो पार्टीमा कसरी युवालाई ल्याउने, कुन सिद्धान्तले ल्याउने कुरा गर्नुभयो, नेपाली कांग्रेस देशको ऐतिहासिक पार्टी हो । हामीसँग अनुभव, सही एजेन्डा छन् । हामी राष्ट्रियतालाई एक सकारात्मक अवधारणा ठान्छौं, आर्थिक, सामाजिक, राजनीतिक विकास हाम्रो कर्तव्य ठान्छौं । सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक सम्पदा संरक्षण पनि हाम्रा मूल एजेन्डा नै हुन् । युवा रोजगारी, औद्योगीकरणजस्ता एजेन्डा, प्राथमिकता, समानता हैन, समता हाम्रो मूल ध्येय हो । त्यसैले पनि युवापुस्ता हाम्रो पार्टीमा आउनुपर्छ । हामी कहिले पनि राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्रका नाममा राजनीति गर्दैनौं, गर्नु पनि हुँदैन । तर, पछिल्लो समय राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्र पार्टी कुनै विशेषका एजेन्डा भएका छन् ।

नेपाली कांग्रेसले २०४६ को परिवर्तनपछि ठूलो आर्थिक रूपान्तरणको नेतृत्व ग¥यो, तर पनि नेपाली कांग्रेसले आफूले ल्याएको परिवर्तनमा दाबी गर्न सक्दैन । फेरि, अहिले कांग्रेसले नै सरकारको नेतृत्व गरिरहेको अवस्थामा देश नियन्त्रित अर्थतन्त्रको बाटोमा फर्कंदै छ । यी दुईवटा कुरालाई कसरी हेर्नुहुन्छ ?
हामीले २०४६ पछि देशको आर्थिक रूपान्तरणको अगुवाइ नेपाली कांग्रेसले ग¥यो । जुन कुरा हाम्रो अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सहयोगले त्यो आर्थिक रूपान्तरण सत्य साबित भएको पुष्टि पनि भयो । जसले गरिबी निवारण, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सहयोग जुटाउनेदेखि उत्पादन वृद्धि गर्ने काम ग¥यो । हामीले आर्थिक रूपान्तरणका हिसाबले देशलाई एउटा गति दियौं । तर, त्यो आर्थिक रूपान्तरणलाई भने २०४६ पछिका कुनै सरकारले हस्तक्षेप गर्न सकेनन् ।
राज्यले रोजगारी सिर्जनाका क्षेत्रमा, औद्योगिक क्रान्तिका क्षेत्रमा, शिक्षा, स्वास्थ्य, सशक्तीकरणका क्षेत्रमा, गरिबी निवारणका क्षेत्रमा राज्यको भूमिका रहनुपर्छ । तर, राज्यको भूमिका यी क्षेत्रमा अहिलेसम्म देखिएको छैन । स्वास्थ्य, शिक्षा महँगो बन्दै गएको भन्ने व्यापक गुनासो पनि छ । कृषि, पर्यटन, उद्योग, रोजगार क्षेत्रमा पर्याप्त लगानी नभएको गुनासो पनि उत्तिकै छ । मृगौला प्रत्यारोपण, क्यान्सरजस्ता रोगसँग लडिरहेका सामान्य नागरिकले उपचार नपाएरै मृत्युवरण गर्नुपर्ने स्थिति विद्यमान छ ।
यी सबै समस्या समाधानको दायित्व राज्यकै हो ।
प्रत्येक नेपाली नागरिकको गाँस, बास र कपासको ग्यारेन्टी गर्ने, सर्भसुलभ स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चिता गर्ने कर्तव्य पनि राज्यकै हो । त्यसैले कानुन र नीतिगत जुनसुकै तरिकाले भए पनि समस्या समाधान गर्नका लागि हरेक क्षेत्रमा राज्यको उपस्थिति हुनुपर्छ । नेपाली कांग्रेसले ल्याएको आर्थिक रूपान्तरणको अभियानलाई अहिलेका सरकारले कार्यान्वयन गर्नुपर्छ । पुराना पार्टीका एजेन्डामाथि हस्तक्षेप गर्ने, जनताको जनजीविका लागि राज्यको उपस्थिति पातलो हुने जस्ता विषयमा वर्तमान समयमा नेपालका सबै दलहरूको साझा छलफल र बहस हुन जरुरी छ ।
अहिलेको वर्तमान सरकारले मूल्यवृद्धि गरेको, कर बढाएको भन्ने व्यापक गुनासो र विरोध छ । तर, यस्ता विषयहरू राष्ट्रिय छलफल र बहसका माध्यमबाट समाधान हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
जस्तै, अहिलेको जल्दोबल्दो समस्याको कुरा गर्नुहुन्छ भने एमसीसी के गर्ने, कसो गर्ने भन्ने अन्योल छ । हाम्रै पार्टीका सभापति प्रधानमन्त्री हुनुहुन्छ । अघिल्ला कम्युनिस्टका पार्टीका प्रधानमन्त्री हुँदा एमसीसी सम्झौतादेखि अनुमोदनका प्रक्रिया भए । तर, अहिले एमसीसीलाई अन्तिम रूप दिनुपर्ने अवस्था आउँदा राजनीतिक दलहरूकै बीच पक्ष विपक्षका धारणा आइरहेका छन् ।
यसबारे थुप्रै प्रश्नहरू पनि तेर्सिएका छन् । तर, सम्पूर्ण पार्टीहरूले चाहिँ यसका वास्तविक पक्षका विषयमा आमनेपाली जनताका बीचमा बहस गर्न जरुरी छ । एमसीसीका बारेमा जनताको चिन्ता र चासो के हो ? बुझाइ के हो त भन्नेबारे सरकारले, राजनीतिक दलले कुनै बहस, छलफल गरेको म देख्दिनँ । जसका कारण असहज ढंगबाट उग्र खालका विवाद भइरहेका छन् । राज्यले सहज ढंगबाट बहस गरेर एमसीसी विवाद टुंग्याउनुपर्ने हो । तर, हुन सकेन । एमसीसी एक उदाहरण मात्रै हो । देशको आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि राष्ट्रिय स्तरकै बहस हुनुपर्छ । तर, हालसम्म यसका कुनै प्रयास भएका छैनन् ।
औद्योगिक क्षेत्र सञ्चालन नगरी, उत्पादन नबढाई, खेल क्षेत्रको विकास नगरी देशको आर्थिक समृद्धि र आर्थिक पुनःस्थापना सम्भव नै छैन । आयात प्रतिस्थापन गर्ने सामथ्र्य हामीले नराखेसम्म व्यापारघाटाको तत्कालीन समस्या समाधानको विकल्प छैन । नुनदेखि सुनसम्म आयात गर्नुपर्ने अवस्था, कृषिप्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने, आयातमै निर्भर हुनुपर्ने विडम्बना छ । यसप्रति सबै दल सचेत र सजग हुनुपर्छ ।

नेपाली कांग्रेसले दोस्रो पुस्ताको आर्थिक सुधारको कुरामात्र ग¥यो तर लिड गर्न सकेन नि किन ?
अब त झन् यसको अर्जेन्सी बढेर आएको छ । रिफर्मको प्रक्रिया अवरुद्ध हुँदै बढ्दै गरेको अवस्था छ । राजनीतिक अस्थिरताले पनि रिफर्मको अवरुद्ध भएको हो । हिजो द्वन्द्वकाल, त्यसपछिका राजनीतिक उतारचढावले रिफर्म निरन्तर रूपमा अघि बढ्न सकेन ।
पछिल्लो समयको कुरा गर्दा कोभिड महामारीले उत्तिकै असर ग¥यो । व्यापारघाटा त्यति नै बढ्यो, उद्योगधन्दा धराशायी भए, उत्पादनमा गिरावट भयो ।
अब देशको अर्थतन्त्रलाई नयाँ शिराबाट अघि बढाउन बहस, छलफल र नीतिगत व्यवस्था अपरिहार्य नै देखियो । अर्को, गार्हस्थ्य उत्पादनलाई कसरी बढाउने, विद्युतीय विकास कसरी गर्ने, नेपालको पुँजीले सम्भव हुन्छ वा हुँदैन, यो सुनिश्चितता हुनुप¥यो । देशको पुँजीले सम्भव नभए वैदेशिक लगानीको सुनिश्चितताका बारेमा ठोस नीति बनाउनुप¥यो ।
गरिबीको मूल हिंसा बोकेको ग्रामीण क्षेत्रको विकासमुखी योजना बनाउनुप¥यो । नेपालको समृद्धिका आधारहरू खोज्दा, पुनःस्थापनाका आधारहरू खोज्दा सबै विषयवस्तु बहसमा ल्याउनुपर्छ ।
तर, ढिलाइ भएको छ । यस्ता गम्भीर खालका मुद्दाहरूमा बहस गर्न सत्ता र प्रतिपक्ष उदासीन देखिएकाले म चिन्तित छु । म अहिले जहाँ छु त्यहींबाट यी मुद्दा उठाउँदा मेरा भनाइले बल प्राप्त गर्छ जस्तो लाग्दैन । यस्ता विषयको गहन छलफल, बहस गर्न पार्टीको आधिकारिक फोरममा जान चाहन्छु भनेर मैले उम्मेदवारी दिने घोषणा गरेको छु ।

हाम्रा विकास साझेदार भनौं वा छिमेकी राष्ट्र भारत, चीन अमेरिकासँग कांग्रेसको सम्बन्ध सन्तुलित नभएर यी समस्या आएका हुन् त ?
त्यसैले त मैले सुरुदेखि भन्दै आएको छु । राष्ट्रिय छलफल र बहस आवश्यक छ । यिनै छिमेकी मुलुकहरू हेर्ने आकर्षण र विकर्षणको एजेन्डा बनायौं ।
तर हुनु हुँदैन । अमेरिका, भारत, चीन, रूस जोसुकै देश होस्, हाम्रो ती देशप्रति गर्ने व्यवहार परम्परागत सिद्धान्त, पद्धति के हो त ? सोही आधारमा अघि बढ्नुपर्छ । कसैले सहयोग गर्दैमा नजिक र नगर्दैमा टाढा हुनुपर्ने स्थिति पनि रहँदैन । सम्बन्ध सबै देशसँग समान हुनुपर्छ । राष्ट्रियताका मुद्दा उठाउँदा सबै देशसँग पनि समान नै हुनुपर्छ । त्यसैले कुनै पार्टीको सन्तुलन सम्बन्ध हुनुभन्दा हाम्रो परराष्ट्र नीति सन्तुलन हुनुपर्छ ।
भारत, चीनमा उत्पादन हुने वस्तु नेपालमा, नेपालमा उत्पादन हुने वस्तु अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने, कुनै पनि अन्तर्राष्ट्रिय समस्यालाई समाधान गर्न कुनै पार्टी, व्यक्तिको सम्बन्ध सुमधरभन्दा देशको सम्बन्ध समधुर र परराष्ट्र नीति सन्तुलन र स्पष्ट हुनुपर्छ जस्तो मलाई लाग्छ । मानौं, अमेरिकाको चीनसँग नराम्रो सम्बन्ध होला, भारतसँग राम्रो होला, हामीले कसलाई पनि गुण र दोषका आधारमा व्यवहार गर्नु हुँदैन । सके सबै राष्ट्रलाई मिलाउने भूमिका खेल्नुपर्छ, नसके फुटाउने भूमिका पनि खेल्नु हुँदैन । तर, अहिले समस्या भनेकै यही छ । हाम्रा छिमेकी राष्ट्रहरूसँग हाम्रो सम्बन्ध समान छैन । राष्ट्रिय हितका लागि जुनसुकै देशबाट आउने सहायता हामीले लिनुपर्छ । कसैको द्वन्द्वको बीचमा हामी पर्नु हुँदैन । यस विषयमा पनि राष्ट्रिय बहस हुनैपर्छ ।

यतिबेला नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । एमसीसी पास गर्ने समयसीमा पनि तोकिइसकेको छ । तर कांग्रेसले किन निर्णय गर्न सकेको छैन कि नेपाललाई एमसीसी चाहिन्न जानुहोस् भनेर भन्न सक्नुप¥यो नि ?
पास नै हुनुपर्छ वा हुनु हुँदैन भनेर म भन्दिनँ । तर, तपाईंले भनेअनुसार सरकारमा सहभागी सबै दलहरू बसेर एमसीसीको आवश्यकता, औचित्यका विषयमा छलफल गरी जनतालाई निकास दिनुपर्छ । आवश्यकताअनुसार राष्ट्रिय बहस पनि गर्नुप¥यो, चुप लागेर सडकको रमिता हेरेर समाधान हुँदैन ।

विचार, नीतिबेगर नेता छनोट गर्ने प्रवृत्ति बढेको छ । यस्ता तमाम समस्या पार्टीभित्र छन् । यी विषय गम्भीरतापूर्वक उठाउन आवश्यक छ । तर, छलफल कसरी गर्ने भन्ने छ । कसरी सुधार गर्ने भन्ने मुख्य समस्या छ ।

नेपाली कांग्रेस पुरानो, ऐतिहासिक, लोकतान्त्रिक पार्टी भएको नाताले पनि बौद्धिक चिन्तन हामीले नै लिनुपर्छ । इमानदारीपूर्वक काम गर्ने हो भने समस्या समाधानको थालनी पनि हामीले गर्न सम्भव छ । यसका लागि युवा पुस्ताको साथ, सहयोग आवश्यकचाहिँ पर्छ ।

अघिल्ला कम्युनिस्ट पार्टीका प्रधानमन्त्री हुँदा एमसीसी सम्झौतादेखि अनुमोदनका प्रक्रिया भए । तर, अहिले एमसीसीलाई अन्तिम रूप दिनुपर्ने अवस्था आउँदा राजनीतिक दलहरूकै बीच पक्ष विपक्षका धारणा आइरहेका छन् । यसबारे थुप्रै प्रश्नहरू पनि तेर्सिएका छन् ।

प्रतिक्रिया दिनुहोस्