सांस्कृतिक चिन्तनभित्रका विकासवादी धर्साहरू «

इतिहासविद्हरूले, अध्येताले मानिसलाई ढुङ्गे युग र बाँदर योनिबाट विकसित रूप माने पनि त्यो एउटा सूक्ष्म प्रमाण भेटिएको अनुमान हुन सक्छ

सांस्कृतिक चिन्तनभित्रका विकासवादी धर्साहरू


अनुसन्धानमा प्रमाण खोजिन्छ । प्रमाणकै कुरा गर्ने हो भने हाम्रा कतिपय संस्कृतिमा ईश्वरीय शक्तिको प्रत्यक्ष सम्पर्क र सम्बन्ध थिए त ? नागनागिनी, वनझाँक्री आदिका कथा वास्तवमा कल्पनामात्रै थिएनन् । षडानन्द अधिकारीले रुमाल ओछ्याएर सप्तकोसी नदी तर्थे भन्ने कुरा धेरै पुरानो होइन ।
सायद त्यतिखेर प्रत्यक्ष प्रमाणहरू भेटिन्थे, लोकले देख्ने अवसर पाउँथ्यो, त्यसैले ती विषयमा कथा लेख्यो होला पनि । यद्यपि आजभोलि यी कुरालाई कल्पना र अन्धविश्वास मानिन्छ । कतिपय कुरा त खोज, असल पत्रकारिताद्वारा पुष्टि पनि भइरहेको देखिन्छ । यसर्थ संस्कृतिभित्र कतिपय वास्तविक पहिचानका आधारहरू जीवित हुन्छन् पनि । यसो भनिरहँदा हिजोका किंवदन्तीहरू यथार्थभन्दा परका अतिरञ्जित व्याख्या पनि होलान् नै ।
मानिस मनोरञ्जनार्थ कल्पनाशील बनेर रचना गरेका हुनन्, तथापि अन्तरिक्ष यात्रा, विमानको परिकल्पना, इच्छामृत्युको शक्ति, शस्त्रास्त्र र शक्ति ज्ञानको पारखी शिल्पादिलाई त्यो क्षणको उच्चस्तरको चिन्तन हो । उक्त समयमा मनोरञ्जनात्मक, सन्देशपरक, सामाजिक आदर्शबोधात्मक प्रकृतिका कविता, गीतलगायतका गद्य र पद्य साहित्यको रचना भएको देखिन्छ ।
आजको युगले यन्त्रवत्, वस्तुपरक, प्रामाणिक, तथ्यपरक तथा ठोस पदार्थसँग रहेर विज्ञानको शक्तिलाई आपूmले पाएका मात्र सत्य मान्ने आदत बसाएको छ । निर्विष व्याख्या भएको देखिँदैन । स्वभावैले कतिपय यस्ता मान्दै आइएका विषय आज अप्रायोगिक लाग्छन् अनि ती कुराहरू प्राचीन अपत्यारिला कथा बन्दै जान्छन् ।
इतिहासविद्हरूले, अध्येताले मानिसलाई ढुङ्गे युग र बाँदर योनिबाट विकसित रूप माने पनि त्यो एउटा सूक्ष्म प्रमाण भेटिएको अनुमान हुन सक्छ । वर्तमान अवस्थाका बाँदर अर्थात् हिजोका बाँदर जातिहरू हाम्रो आँखाले मान्छे बन्दै गरेका स्थितिलाई आँखाले देख्न सकेका पनि छैनौँ । अर्को एउटा प्रश्न– मानिसलाई कतिखेर बर्बर थियो भन्ने ? शिव भगवान् किराँतीको रूप धारण गर्दा जङ्गलमा पुगेको समयलाई बर्बर मान्ने कि ? महाभारतकालीन समयभन्दा अघि अर्थात् पछिको समयलाई मान्ने कि ? यदि मानिस महाभारतकालीन समय, रामायणकालीन समयभन्दा अघि बर्बर थियो कि त ? अर्थात् यदि त्यसभन्दा अघिको सृष्टिक्रममा हो भने त्यसपछिको त्यो विकसित ज्ञान आजको भन्दा महान् त होइन कतै ? हामीले हाम्रा शास्त्रमा वर्णित पुरहरू, आकाश मार्गका कुरा, राज्य र विकासका सन्दर्भलाई हेर्दा के साँच्चै मान्छेले हुँदै नभएको कुरालाई कल्पना गरेको थियो त ? उक्त समयपछिको मानिसलाई बर्बर थियो भन्ने हो भने त्यत्रो विशाल ज्ञान, विज्ञान, शक्ति, सबलता आज कसरी गायब भयो । अर्कातिरबाट सोच्दा मानिस किन आज अर्जुनजस्तो, रामजस्तो, कृष्णजस्तो सक्षम बन्न सक्दैन ?
साहित्य, ग्रन्थ वा किंवदन्ती, पुराकथा, मिथक आदिले संस्कृतिलाई जीवन्त बनाएको हुन्छ । यसमा लोकइतिहासको सम्बन्ध गाँसिएको हुन्छ । संस्कृति मानव हुनुको परिचयमा आधारित हुन्छ ।
नेपाली संस्कृतिभित्र आ–आफ्ना पृथक् इतिहास जोडिएका छन् । कतिपय आज अपत्यारिला लागेका लोककथाहरू हिजो सायद सत्य साबित थिए । आजका मान्छेसँग त्यो समयको जस्तो क्षमता नहुँदा आजकै युगसम्मत सीमित व्याख्या गरिनु मात्र वास्तवमा बुद्धिमानी ठहर्दैन । हिजोका मान्छेले घर बनाउँदा मिलेर निदाल बोक्थे, ठूला–ठूला ढुङ्गा एक्लै बोक्थे, एकै जनाले २२–२४ पाथी धानका बोरा बोक्थे भन्ने कतिपय यथार्थ कुरा अबका २०, ४० वर्षपछि अपत्यारिला लाग्नासाथ भूmटो हो भनिहाल्नु सान्दर्भिक हुँदैन ।
गोरखादेखि मासको बोरा बोकेर काठमाडौँमा लगेर बेच्ने अर्थात् भनौँ धरानदेखि ताप्लेजुङसम्म ढाकरमा नुन बोकेर लैजान्थे भन्ने कुरा आज नै अपत्यारिला कथाजस्तै लाग्छन् । यसर्थ समयको अन्तरालले कतिपय यथार्थ कुरा पनि किंवदन्ती बन्न पुग्छन् । प्रविधिले संस्कृतिलाई बदल्नु स्वाभाविक स्वीकार्यको सिद्धान्त बन्यो । यसलाई पुस्तागत अन्तरले प्रभाव पारिरहेको हुन्छ ।
मानिसको सभ्यतामा चेतनाको स्तर परिवर्तन भए पनि रूप परिवर्तनको समयावधि कल्पना र अनुमान मात्र हो । मानिस त बालकदेखि वृद्ध हुने जैविक प्रकृतिको नै थियो भन्नु बढी सान्दर्भिक हुन्छ ।
प्रमाणका आधारमा कुरा गर्ने हो भने आजसम्म मानिसले आपूmले भोगेको शताब्दीमा कुनै पनि बाँदर मानिसमा परिणत भएको कुनै यथार्थ प्रमाण हामीले देख्न पाएका छैनौँ ।
तर, हामीले हाम्रा पूर्वजका ज्ञान र हातमा भएका ग्रन्थका प्रमाणलाई खोज्ने जाँगरचाहिँ पटक्कै चलाएनछौँ । हामीभन्दा अघिका इतिहासमा आजका आधुनिक भनिएका विषय अर्थात् आजका मानिसभन्दा ठूलो र विकसित सभ्यता थियो कि त ! आज पनि बूढापाकाका औषधि ज्ञान, उखान र टुक्का हालेर बोल्ने कला, प्रकृतिसँगको सम्बन्ध गाँस्ने वास्तविकतालगायतका कतिपय रहस्यमय कुराहरू पुस्तैपिच्छे ह्रास हुँदै छन् । अझ भनौँ महाभारतकालीन, रामायणकालीनलगायतका ग्रन्थादिको ज्ञान, कला, सक्षमता आज किन छैन र भएन भन्ने पनि त एउटा चासो र खोजको विषय हुन सक्छ ।
अनि कसरी अर्जुनको जस्तो, ऋषि गणको जस्तो, तपश्वीको जस्तो सिद्धहस्तता वा भनौँ वायव्यास्त्र, अग्न्यास्त्र, वारुणास्त्र, मुसल आदि मन्त्र शक्तिका आधारमा पाउन सकिएला भन्ने अर्को खोजको विषय जोडिएला । आज बनेको संसार ध्वस्त पार्ने विभिन्न प्रकृतिका बमभन्दा एकपटक मात्र प्रयोग गर्न मिल्ने ब्रह्मास्त्र, विष्णुचक्र, पाशुपतास्त्रहरू कसरी सर्वशक्तिमान थिए होलान् ? अझ द्रोणाचार्यका छोरा अश्वत्थामासँग भएको ब्रह्मशिर अस्त्रले त संसारै स्वाहा बनाउने खुबी राख्ने सन्दर्भ छ ।
यसो भनिरहँदा वेद कुनै हिन्दू धर्मका लागि मात्र लेखिएको ग्रन्थ होइन । यो सिङ्गो मानव जाति र प्राणीहितका लागि विभिन्न ऋषिको समष्टि ज्ञानको पुञ्ज हो । त्रिपिटक बौद्ध धर्मावलम्बीका लागि मात्र भनेर लेखिएको होइन, किनकि बुद्ध स्वयम् नै हिन्दू धर्मलाई पालना गर्ने परिवारमा जन्मेका हुन् । अर्थात्, कुनै पनि ग्रन्थ मानवहितका लागि लेखिएका हुन्, धर्म र धार्मिक खेमामा मानिसलाई बाँध्नका लागि होइन । मानिसले पछि आएर धर्मको पर्खाल लगाएर ग्रन्थ र ग्रन्थ ज्ञानलाई विभाजन गरिदियो ।
महाभारत या त रामायणजस्ता ग्रन्थ त साहित्यकारको दिमाग मात्र हो, कला हो भन्ने केहीका आजका विचारकको तर्क होला । सोचनीय कुरा के छ भने के कुनै कविले, कथाकारले या साहित्यकारले एकछिन या त वर्षौं लगाएर केवल कल्पना गरेरै मात्रै त्यत्रा ग्रन्थलाई रचना गरेका होलान् त ? साँच्चै ती घटना घटेकै होइनन् त ? त्यो समयमा त यातायातको आविष्कार भएको थिएन ।
यद्यपि एउटै ग्रन्थभित्र थुप्रै देशदेशान्तरको वर्णन छ । अयोध्यादेखि जनकपुरसम्मको व्याख्या, श्रीलङ्ककासम्मको चर्चा, महाभारतका कैयौँ राज्य र टाढा–टाढाको वर्णन छ । त्यो अवश्य पनि कल्पना मात्र होइन ।
अर्थात् भनौँ महाभारत आदि ग्रन्थका लेखक वेदव्यास कति वर्ष बाँचे होलान् र त्यत्तिका धेरै ग्रन्थ लेख्न भ्याए ? अनि आजसम्म पनि वेदका वाणी सत्य र यथार्थ कसरी भइरहेका होलान् ? त्यसो हो भने लेखकको लेखकीय ज्ञान एउटा बन्द कोठामा कोचिएर बस्नेको कल्पना मात्र हो त ? त्यतिखेरको वास्तविक इतिहाससँगको तालमेल राख्ने क्षमता वा त्यो युगसम्मत भएर व्याख्या गर्ने वास्तविक आधार हामीमा छैन भने ती घटना आज अनुसन्धान गर्न नसकिएका ग्रह, ताराजस्तै स्तरका हुन् भन्न मिल्दैन ! जसरी हाम्रा वैज्ञानिकहरूले सबै ग्रह तथा ताराहरूलाई पत्ता लगाउने कोसिस गरिरहेका छन् तर सबैको अध्ययन गर्न सकेका छैनन् ।
यो विषय त्यस्तै हो अर्थात् विभिन्न ग्रन्थ, उपनिषद् आदिका आधारमा ती घटना यथार्थ थिए पनि होलान्, तर आज काल्पनिकजस्ता लाग्छन् । कारण मानिसले ती विकासवादी धर्साहरूलाई पहिल्याउने क्षमता विकास गर्न सकिरहेको छैन । त्यो ऐतिहासिक यथार्थतालाई बोध गर्ने खुबी हामीमा नभएको हुँदो हो ।
यसको अर्थ आजका मान्छेको दिमागले प्रमाण नभेटेका र अपत्यारिलाजस्ता लागेका सबै कुरा काल्पनिक मात्रै हुन्, रोमाञ्चक हुन्, अतिरञ्जक मात्र हुन् त ! आजको मानिसले ती कुराका प्रमाण खोज्दाखेरि नपाएकाले नै त असत्य मान्दै छ । त्यसो भए के मानिसले प्रमाण नभेटेका हरेक कथा, हरेक इतिहास सबै काल्पनिक मात्र होलान् ? अनि वेद, उपनिषद्, प्राचीन ग्रन्थादिका रचना र जीवनको वास्तविकतालाई कसरी कल्पना मात्र भनेर पन्छिन सकिएला र ! आज त्यति धेरै शक्तिसम्पन्न नहुँदा अर्थात् आकाशमा उड्ने, विभिन्न सिद्धहस्तता विकास गर्ने रुचि नभएर पनि त हामी कमजोर हौँला नि— यो एउटा विचारणीय कुरा हो ।

प्रतिक्रिया दिनुहोस्