लगानी सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ : प्रधानमन्त्री «

लगानी सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालले तयारीका लागि पाँच वर्षको समय पाएको भन्दै यसको उचित प्रयोग गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तयारीका लागि पाएको समयको अधिकतम उपयोग गर्दै आगामी १० वर्षभित्र मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने १५औं योजनाको दीर्घकालीन लक्ष्यपूर्तिमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
नेपालको स्तरोन्नति गर्न देश तथा विदेशबाट ठूलो लगानीको आवश्यकता भएको भन्दै लगानी गर्न समेत प्रधानमन्त्री देउवाले अपिल गरेका छन् ।
“हामी देशमा लगानीको वातावरण निर्माण गर्छौं । देश विदेशबाट ठूलो लगानी गर्नुहोस् । त्यसको सुरक्षाको ग्यारेन्टी सरकारले लिन्छ,” उनले भने । कोरोना महामारीले पछिल्ला दुई वर्षमा नेपालको अर्थतन्त्रमा ठूलो असर पारेको उनले बताए । “कोरोनाका कारण पछिल्ला वर्षहरुको आर्थिक वृद्धिदर निकै न्यून रहन गयो । सधैं यस्तो रहँदैन । सामान्य अवस्थामा आएपछि तीव्र रुपमा अगाडि बढ्छ,” प्रधानमन्त्री देउवाले भने ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता रहेको बताए । त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको समेत उनले जानकारी दिए ।
“नेपालका ऐनकानुन विकासमैत्री देखिएका छैनन् । हामीले खरिद नियमावली संशोधनको कार्य अगाडि बढाएका छौँ । अन्य कानुनमा पनि सुधारको आवश्यकता छ,” उनले भने । विकासका सानातिना कामहरूमा पनि अदालतले ‘स्टे अर्डर’ दिँदा विकासमा ढिलाइ हुने गरेको बताउँदै उनले विकासका लागि छुट्टै कानुनको आवश्यकता रहेको बताएका हुन् । “सामान्य बाटो खन्दा पनि अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययनमा वर्षौँ लाग्नेलगायतका कुरा छन्,” उनले भने । अर्थमन्त्री शर्माले लक्ष्य अनुसार खर्च गर्न पनि नसकिएको बताउँदै नयाँ विधि अवलम्बन गर्नुपर्नेमा आफूहरु लागेको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले मुलुकको विकासका लागि लाइसेन्स राजको अन्त्य गर्नुपर्ने बताए । उनले देशको सम्पत्ति सुरक्षा पनि महत्वपूर्ण मुद्दा भएको धारणा राखे। एक आयोजनाबाट अर्को आयोजनामा हुने रकमान्तर बढ्दै गएकाले सार्वजनिक योजना छनोट पारदर्शी हुनुपर्ने उनको भनाइ थियो ।

कारोबारकर्मी ढकाललाई अनुसन्धान वृत्ति
सेजन अवार्डबाट हिमाल खबरपत्रिकाका रमेशकुमार र अन्नपूर्ण पोष्ट दैनिककी सुनिता कार्की पुरस्कृत भएका छन् । त्यसैगरी स्वर्गीय सञ्जय न्यौपाने अनुसन्धान वृत्ति कारोबार दैनिककी सरस्वती ढकाल र हाइड्रो फेलोसिप नागरिक दैनिकका हिमाल लम्सालले पाएका छन् । कार्यक्रममा प्रा.डा. अच्युत वाग्ले र राजीव उपाध्यायलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्