नेपाली बैंक एसियामै उत्कृष्ट «

नेपाली बैंक एसियामै उत्कृष्ट

नेपाली बैंक एसियामै उत्कृष्ट भएको छ । एनएमबि बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलो पटक ‘दि बैंक अफ दि इयर एसिया २०२१’ पुरस्कार प्राप्त गरेको छ ।
बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डको लागि एनएमबि बैंकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको निर्णायक मण्डलले जनाएको छ ।
नेपालको बैंकिङ उद्योगकै लागि पनि आफैंमा एउटा ऐतिहासिक उपलब्धि भएको यो पुरस्कार प्राप्त गर्ने एनएमबि बैंक पहिलो नेपाली बैंक हो । साथै, एनएमबिले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।
बैंकका अध्यक्षले सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ग्रहण गरेका थिए । उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्रीले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।
सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्यांकन गर्ने र विश्वकै अग्रणि संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।
बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकूल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ । दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्