सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमै स्वास्थ्य सेवा «

सिमरा स्वास्थ्य केन्द्रमा ५ रुपैयाँमै स्वास्थ्य सेवा

जिल्लाको सिमरामा ५ रुपैयाँमै दक्ष चिकित्सकबाट उपचार हुन थालेको छ । सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)ले सस्तो शुल्कमा सेवा दिन थालेको हो ।
नागरिकको अधिकार सुलभ उपचार भन्दै पिएचसीले दक्ष चिकित्सकबाट उपचार थालेपछि नजिकै रहेका निजी अस्पतालका बिरामीसमेत सिमरा पिएचसीमा आउन थालेका छन् । सरकारी स्वामित्वको केन्द्रमा अपनत्व बढोस् भनेर व्यवस्थापन समितिले ५ रुपैयाँ शुल्क तोकेको हो । जटील र असाध्य रोगका बिरामीबाहेक अन्य सेवाग्राहीले केन्द्रमा सेवा लिन उपस्थिति बाक्लो बनाएपछि निजी अस्पतालहरूले समेत शुल्क घटाउन थालेका छन् ।
सेवा केन्द्रमा कार्यरत चिकित्सकको क्षमता बराबरको निजी अस्पतालका डाक्टरका उपचार गराउँदा ३ सयदेखि ५ सयसम्म प्रतिव्यक्ति शुल्क र औषधीसमेत खरिद गर्नुपर्ने भए पछि दर्जनौ बिरामीहरूको ५ रुपैयाँ शुल्क रहेको केन्द्र चयनमा पर्न थालेको हो । केन्द्रले वृद्धवृद्धा, दलित, असक्त, विद्यार्थीलगायतलाई कुनै शुल्क नै तिर्नु नपर्ने व्यवस्था गरेको छ ।
केन्द्रमा सरकारले उपलब्ध गराएको ५८ प्रकारका औषधी निःशुल्क र ४८ प्रकारका ल्याब परीक्षण निजी अस्पताल भन्दा ५० प्रतिशत सस्तो दरमा भएपछि ग्रामीण क्षेत्रमात्र नभई बजारका मानिस पनि ‘हाम्रो अस्पताल राम्रो’ भन्दै सेवा लिन थालेका छन् । केही वर्षअघि गरिब, मजदुर जाने अस्पताल भनेर व्याख्या हुने सिमरा पिएचसी अहिले समाजका सबै वर्गको रोजाइमा परेको छ ।
मुक्तिनाथ केमिकल प्रालि सिमराका सञ्चालक शिव पौडेलले आफू र परिवारका सदस्यको नियमित स्वास्थ्य परिक्षण केन्द्रमा गर्ने गरेका छन् । दक्ष चिकित्सक र सस्तोमा उपचार पाउने भएपछि केन्द्रप्रति मोह बढेको बताउँदै पौडेल भन्छन्, “अझ यसको प्रचार ग्रामीण बस्तिहरूमा पुगे एउटा वर्गको ठुलो समूहलाई राहत मिल्नेछ ।”
३ एमबिबिएस डाक्टर, १ हेल्थ असिष्टेन्ट, ३ सिएमए, १ स्टाफ नर्स, ३ अनमी, १ फार्मेसी असिष्टेन्ट, १ ल्याब असिष्टेन्ट र केही कार्यालय सहयोगीको समूहले जाडो याममा दैनिक ६० र गर्मी महिनामा १ सय ५० जनासम्म बिरामीलाई उपचार गर्ने गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
दुई वर्ष अघिसम्म थला परेको केन्द्रमा मनैदेखि काम गर्ने इच्छा बोकेर आएका एक जुझारु डा. श्रवणकुमार मण्डलको प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले अस्पतालको स्वरुप पाएको स्थानीय राज श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “सिमरा पिएचसीले धेरै डाक्टर पायो, आएका धेरैजसो जागिर खानमात्र आउँथे, अवधि सकिएपछि चुपचाप जान्थे । स्वास्थ्य केन्द्रमा डाक्टर आएको गएको आभास हुँदैनथ्यो । तर, मण्डलले साँच्चै आफ्नो कामप्रति जिम्मेवार भएर मिहिनेत गर्ने हो भने परिवर्तन सम्भव छ भन्ने उदाहरण दिएका छन् ।”
बारामा रहेका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये सिमरा उत्कृष्ट बनेकोे जिल्ला जनस्वास्थ्य कार्यालयले समेत जनाएको छ । विगतमा स्वास्थ्य केन्द्रमा न उपचार हुन्थ्यो, न त विश्वास । तर पछिल्लो समय विरगञ्ज, चितवन जाने बिरामरीहरूले समेत सिमरा पिएचसीमा पहिलो परामर्श लिन थालेका छन् । अब २४ सै घण्टा सेवा प्रवाह गर्न स्थानीय निकायको पहल थाल्न जनस्तरमा माग बढ्न थालेको छ । सरकारी संयन्त्रबाहेक पनि पिएचसीमा जनस्तरको चासो बढ्दै जाँदा स्थानीय तहले समेत सिमरा पिएचसीमा ध्यान बढाएको छ ।
पिएचसी स्थानीय तहले हेर्ने भएपछि जितपुर सिमरा उपमहानगरका प्रमुख तथा सिमरा पिएचसीका संरक्षक डा. कृष्ण पौडेलले केन्द्रमा रहेको व्यवस्थापनको पुनर्संरचना तत्कालै गर्ने र यहाँबाट वितरित सेवासुपिधा वृद्धिका निम्ती स्थानीय श्रोत परिचालन गर्दै स्तरोन्नति र थप आवश्यक जनशक्ति मन्त्रालयमा माग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्