पाँच संघ संस्थाद्वारा विज्ञापन बोर्डको निर्णयको विरोध «

पाँच संघ संस्थाद्वारा विज्ञापन बोर्डको निर्णयको विरोध

सरकारले मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन प्रसारण नगर्न भनेपछि विभिन्न पाँच वटा सरोकारवला संघसंस्थाले विरोध गरेका छन् । नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुुटवल संघले बोर्डको निर्णयको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । उनीहरुले सरकारको उक्त भनाइमा आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
“नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, विज्ञापन बोर्डले जनस्वास्थ्य ऐनको हवाला दिँदै, मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नपाउने गरी जारी गरेको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।
मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला नै रहेको, मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिएको र नेपालमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेकोले यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु राम्रो नभएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञापन रोक्दैमा वस्तुको उपभोग कम नहुने बताउँदै उनीहरुले बरु सभ्य किसिमका र मदिरा उपभोगप्रति उक्साहट नगर्ने किसिमका विज्ञापनहरुले उपभोक्तालाई आफ्नो चाहना अनुसारको वस्तु छनोट गर्न मद्दत पु¥याउने दावी गरेका छन् । नेपाली उद्योग र उत्पादनहरुको नियमन गर्ने विधि तय नगरी विज्ञापन मात्रै गर्न नपाउने एकतर्फी निर्णयले विज्ञापन व्यवसायमा पनि प्रभाव प्रतिकुल पर्न गई समग्र देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न जाने उनीहरुको जिकिर छ ।
यसको असर नेपालभित्रका विज्ञापन एजेन्सी, मिडिया र यस क्षेत्रका उत्पादन उद्योगमा समेत पर्ने भएकाले नेपाली निजी क्षेत्रलाई प्रतिकूल प्रभावित पार्ने किसिमको विज्ञापन बोर्डको यस्तो निर्णय अविलम्ब फिर्ता गर्न उनीहरुले माग गरेका छन् ।
यी संघ संस्थाले भने कोरोनाको महामारीको कारण विगत दुई वर्षदेखि प्रताडित हुँदै आएको नेपालको व्यावसायिक क्षेत्रलाई बोर्डको हस्तक्षेपकारी निर्णयले थप मर्माहत बनाउने काम गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्