स्वदेशी जुत्ता, चप्पलमा ग्राहकको आकर्षण

स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ ।
१९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको प्रर्दशनीमा स्वदेशी उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको आयोजकले जनाएको छ । सोमबारसम्म मात्रै सञ्चालन गर्ने भनिएको प्रर्दशनी ग्राहकहरुको भिड बढ्दै गएकाले मंसिर १९ गतेसम्म सञ्चालनमा रहने बताइएको छ ।
शिखर जुत्ता कम्पनीका स्टल प्रमुख राजु उप्रेतीले स्वदेशी उत्पादनका जुत्ता चप्पलमा प्रर्दशनीमा आउने ग्राहकको आकर्षण देखिएको बताए । उनले ग्राहकको स्वदेशी उत्पादनका जुत्ता चप्पलमा देखिएको आकर्षणले हरेक बस्तुको स्वदेशी उत्पादनमा जोड दिनुपर्ने देखिएको बताए । “स्वदेशी उत्पादनलाई ग्राहकले मन पराएर नेपालमा पनि विदेशी उत्पादनसँग तुलना गर्न मिल्ने उत्पादन रहेको बताउने गरेका छन्” उनले भने, “स्वदेशी उत्पादनका गुणस्तरिय जुत्ता चप्पल सहुलियत मूल्यमा छानीछानी किन्न पाएका छन् । यो प्रर्दशनीले थला परेको अर्थतन्त्र चलायमान बनाउन केही राहत मिल्ने छ ।”
उप्रेतीले प्रर्दशनी मेलामा स्टल राखिएका कम्पनीले स्टक सक्ने किसिमले पुराना जुत्ता चप्पल नराखिएको दावी गरे । उनले भर्खरै उत्पादन भएका ताजा जुत्ता चप्पलनै स्टलमा राखिएको बताए । प्रर्दशनीमा आउने ग्राहकले पनि स्वदेशी उत्पादनलाई प्रोसाहन गर्नु पर्ने बताएका छन् । स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता चप्पल सहुलियत मूल्यमा पाइने भएकाले स्वदेशी कम्पनीको उत्थान गर्नुपर्ने ग्राहकहरुको भनाइ छ ।
फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा कात्तिक २६ गतेदेखि सञ्चालन रहेको छ । मेलामा छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । प्रदर्शनीमा नेपालका ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिएको छ । प्रदर्शनीभर करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।