एम्बुलेन्स खरिदका लागि आएको रकम प्रवासमै फिर्ता «

एम्बुलेन्स खरिदका लागि आएको रकम प्रवासमै फिर्ता


नीतिगत जटिलताका कारण एम्बुलेन्स खरिदका लागि समस्या भएपछि प्रवासबाट जम्मा भएको रकम फिर्ता भएको छ । बागलुङको धौलागिरि अस्पतालमा एम्बुलेन्स खरिदका लागि अष्टे«लियावाट प्राप्त २८ लाख रुपैया फिर्ता भएको हो ।
रोजगारीको शिलसिलामा अष्टे«लिया पुगेका बागलुङेहरूको अगुवाइमा संकलित रकम सुविधायुक्त एम्बुलेन्स खरिदका लागि भन्दै अस्पताललाई प्रदान गरिएको थियो । प्राप्त भएको सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजना अस्पताल स्रोतले बनाएको थियो ।
ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स खरिद र सञ्चालन गर्र्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न अस्पताल स्रोतले बताएको छ । एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताए ।
एम्बुलेन्स खरिदका लागि राज्यद्वारा पाउने भन्सार छुट सुविधापछि ५५ लाख पर्ने सो एम्बुलेन्सका लागि थप २७ लाखको खाँचो थियो । अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको हो ।
“मन्त्रालयको नीतिगत समस्याका कारण नागरिकले साझेदारी गर्छौंभन्दा पनि बजेट पाउन सकिएन,” रानाले भने, “दुःखका साथ प्रवासीले एम्बुलेन्स खरिदका लागि प्रदान गरेको सहयोग रकम फिर्ता गर्नुपर्ने अवस्था आयो ।” अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइएको थियो ।
८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा २८ लाखमा आउने भएपछि दाताको मात्रै रकमले किन्न पुग्थ्यो । स्थानीय तह, प्रदेश हुँदै अगाडि बढाइएको एम्बुलेन्स खरिदको प्रस्ताव र सिफारिस नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेर रोकिएको रानाको भनाइ छ ।
गत वैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि पनि गत असोज २२ देखि सकिएको छ ।
नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन । समितिका सदस्य सचिवसमेत रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले टु ह्विल एम्बुलेन्स खरिद गर्न नीतिगत बाधा देखिएको र फोर ह्विलसहितको सुविधायुक्त एम्बुलेन्सका लागि बजेट अपुग भएको बताए । अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनका लागि मन्त्रालयसँग बजेट माग र समन्वयको काम भइरहेको पोखरेलको भनाइ छ । बागलुङ–अष्ट्रेलिया कमिटीले सो रकमबारे सहयोगदातालाई जानकारी गराई कमिटीकै मातहात राखिने भएको छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रूपमा घोषणा गरिएको धौलागिरि अस्पताल अहिले पनि थोत्रो एम्बुलेन्सका भरमा छ ।

— त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्