‘प्रदूषण व्यवस्थापनमा ध्यान दिऔं’ «

‘प्रदूषण व्यवस्थापनमा ध्यान दिऔं’


सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी छन् ।
मंगलबार जलवायु परिवर्तनसँग सुहाउँदो सहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताकी हुन् । उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिबद्धतालाई सबै नागरिकले आफ्नो एजेण्डा बनाएर अघि बढ्नु पर्ने आवश्यक्ता समेत औंल्याइन् । मन्त्री झाँक्रीले अहिले भएका ठाउँलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएरमात्रै नपुग्ने भन्दै सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न सहरलाई नयाँ सहर बनाउने अवधारणाअनुरुप काम गर्नुपर्ने बताइन् ।
मन्त्री झाँक्रीले भनिन्, “कोप २६ मा हाम्रो प्रधानमन्त्री गएर बोल्नुभयो, हाम्रो प्रायोरिटी यो हो भनेर, स्वाभाविक रुपले नेपाल सरकारको प्रधानमन्त्रीले बोलेको विषयहरु हाम्रो सरकारको प्राथमिकता हो । त्यहाँ केही विषयहरु बोलिए र हामीले त्यसलाई अरु ढंगले पनि प्रेजेन्ट गरिरहेका छौं ।
एउटा अनौठो तथ्यांक देखेँ मैले, २०३० सम्म हामीले १५ प्रतिशत स्वच्छ र सस्तो उर्जाको विकास गर्ने भनेका छौँ । जबकि हाम्रो ऊर्जा भनेर केलाई भन्ने ? दाउरा, आदि इत्यादिलाई पनि ऊर्जा भन्ने हो भने त फेरि हाम्रो अर्को कुरा हुने होला । आजको दिनमा अरुकै कुरालाई हामीले ध्यान दिएको जस्तो पनि लाग्छ ।
त्यसैले कार्बन उत्सर्जन नगर्ने देशमध्ये नेपाल पर्छ, दुई वटा ठूला औद्योगिक, विकासशील, राष्ट्रहरु, इकोनोमिमा तीव्र विकास गरेका र जनसंख्याको ठूलो हिस्सा भएका मुलुकको बीचमा छौँ । हामी जोखिममा छौँ भन्ने विषयहरु सबै मानिसहरुले बिना प्रोजेक्ट चिच्याएर भन्नु पर्ने बेला छ । ग्लोबल प्लेटफर्ममा हामीले जति वटा प्रतिबद्धता जनाएका छौँ ।
त्यसलाई हामी सबैले हाम्रो एजेण्डा हो भन्नुपर्ने बेला आएको छ । त्यसैले विकासको कुरा गरिरहँदा अर्बान प्लानिङको इकोसिस्टम बेसको कुरा गरिरहँदा अहिले भएका ठाउँहरूलाई कसरी राम्रो बनाउने त ? जस्तो काठमाडौंको हिसाबले कुरा गर्ने हो भने, बाटो साँघुरो छ, ट्राफिक जाम धेरै छ, एक, डेढ घण्टा पिक आवरमा जाममा जो कोही परिरहन्छ, त्यसले गर्र्ने इन्धनको खपत, प्रदूषण, मानिसको समयको बर्बादीलाई हामीले कसरी व्यवस्थापन गर्छौं भन्ने कुरा प्रत्येक मान्छेको एजेण्डा बन्नुपर्छ ।”
मन्त्री झाँक्रीले वस्तु र सेवाको उत्पादन बन्नुपर्ने काठमाडौं वस्तु र सेवाको उपभोगको केन्द्र बनेको बताइन् । उनले काठमाडौं व्यवस्थित र आधुनिक सहर नभई ढल र अव्यवस्थित मानिसको थलो भएको बताइन् । मन्त्री झाँक्रीले काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन अनुसन्धान हुनुपर्ने बताइन् ।
मन्त्री झाँक्रीले काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुले त्यसको बारेमा अध्ययन नगरी जाने सुनेको भरमा मात्रै भन्दै हिँडेको उल्लेख गरिन् ।
मन्त्री झाँक्रीले नयाँ सहर, मेगा सहर र स्मार्ट सिटी बनाउनका लागि अध्ययन र अनुसन्धानको खाँचो रहेको बताइन् । उनले इन्जिनियरिङ क्षेत्रमा अब पढ्दा र पढाउँदा आजको काठमाडौंलाई ३० वर्षमा नयाँ काठमाडौं बनाउने योजनाअनुसार प्रत्येक विद्यार्थीलाई प्रोजेक्ट दिएर पढाउनु पर्ने बताइन् । मन्त्री झाँक्रीले नयाँ ढंगको सोचको विकास गरेर अघि बढ्नुपर्ने भन्दै देशको विकासका लागि नागरिकको सहयोग अपरिहार्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्