सिंजाका तीनै गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा «

सिंजाका तीनै गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा

जुम्ला-
सिंजा क्षेत्रका तीनै स्थानीयतहले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । गाउँगाउँमा सडक सञ्जालको पहुँच पुगेसँगै स्थानीयतले एम्बुलेन्स सेवा शुरु गरेका हुन् । जसमा, सिंजाको कनकासुन्दरी गाउँपालिकाले आइतबारदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भने, सिंजा क्षेत्रका हिमा र सिंजा गाउँपालिकाले यसअघिनै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए ।
सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विभाजित छ । जुम्लाको सदरमुकाम खलंगादेखि पैदल यात्रा गर्दा एक दिनमा सिंजा उपत्यका पुगिन्छ । त्यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आउनुपर्ने बाध्यता छ ।
तर, विगतमा एम्बुलेन्स नहुँदा समयमै अस्पताल आउन नपाएर सिंजा क्षेत्रका धेरैले ज्यान गुमाउन बाध्य भए । स्टेचरमा विरामी बोक्दाका पिडालाई मध्यनजर गर्दै जिल्लाकै दुर्गममा पर्ने कनकनसुन्दरी गाउँपालिकाले पनि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको हो ।
कनकासुन्दरीमा बस्तीबस्तीमा सडक पुगिसकेकोले सबैखाले विरामीलाई सर्वसुलभ सेवा दिनेगरी आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले बताए । उनका अनुसार सुत्केरी आमाहरूका लागि भने एम्बुलेन्स सेवा निशुल्क गरिने छ ।
कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाका अनुसार राजस्व (कर) छुटसहित १० लाख ८१ हजार लागतमा एम्बुलेन्स पालिकामा पुगेको हो । उनले भने, “दुर्गममा समयमै उपचार नपाएर छटपटाउनु पर्ने बाध्यता छ । नागरिकहरूका पिडामा मलम लगाउन आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको छौ । सबैले राहत महसुस गर्ने छन् ।”
गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेका अनुसार अघिल्ला वर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजस्व छुटमा एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिएको हो । उनले भने, “पालिकामा एम्बुलेन्स नहुँदा खलंगाबाट महंगो खर्चेर एम्बुलेन्स मगाउनु पर्ने बाध्यता थियो । अब आफ्नै एम्बुलेन्स सेवा भएपछि नागरिकले विगतको त्यस्तो समस्याबाट उन्मुक्ति पाउने भएका छन् ।
यता हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले जनप्रतिनिधिलाई स्कारपिओ गाडी खरिद गर्ने भनी छुटाएको बजेटले जनताको सेवाका लागि एम्बुलेन्स खरिद गरी सञ्चालन गरेको बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा राजस्व (कर) छुट गरेर १० लाख बजेटमा पालिकाले एम्बुलेन्स खरिद गरेको हो ।
यस्तै सिंजा गाउँपालिकाले पनि राजश्व (कर) छुट गरी १० लाखमा एम्बुलेन्स खरिद गरी सेवा दिँदै आएको छ । भने, खलंगादेखि टाढा रहेको पातारासी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामै रहेको बताएका छन् । चाँडै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्