लेबनानमा रहेका नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनबारे छलफल «

लेबनानमा रहेका नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनबारे छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेबनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उनीहरूबीच लेवनानमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनको विषयमा छलफल भयो । मन्त्री श्रेष्ठले नेपाल र लेबनानबीचको सम्बन्ध सुदृढ बनाउन गोजायलले खेलेकोे भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
मन्त्री श्रेष्ठले नेपाल र लेवनान दुवै देश संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन तथाजी ७७ का सदस्य देश रहेकाले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय फोरमहरूमा एकै किसिमका एजेन्डा हुने गरेको स्मरण गरे ।
महावाणिज्यदूत गोजायलले लेवनान सरकारले सरकारी स्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न आग्रह गरेको बताए ।
लेबनानमा रहेका नेपालीहरूको सुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने गोजायलले बताए । श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न सरोकारवालाहरूसँग बृहत् छलफल गरी छिटो टुङ्गोमा पुगिने मन्त्री श्रेष्ठले बताए ।
पछिल्लो समय लेवनान नेपाली श्रमिकहरूको लागि राम्रो गन्तव्य मुलुकको रुपमा रहेको छ । नेपाल र लेबनानबीच सन् १९६३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले लेवनानमा संयुक्त राष्ट्रसंघमार्फत शान्तिसेना पनि पठाउँदै आएको छ ।
शान्ति सेनाले त्यहाँ रहेका सीमान्त समुदायलाई सहयोग गर्नुका साथै शान्ति स्थापनाको प्रक्रियामा सहयोग गर्दै आएको छ । भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले लेवनानको शान्ति प्रक्रिया सफलताको शुभकामना पनि दिए ।

प्रतिक्रिया दिनुहोस्