एमालेको बागडोर अर्को पाँच वर्ष ओलीको हातमा «

एमालेको बागडोर अर्को पाँच वर्ष ओलीको हातमा



नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । १० मंसिरमा चितवनमा सुरु भएको महाधिवेशन १४ मंसिर (मंगलबार) सकिएको हो ।
मंसिर १० देखि १२ गतेका लागि तय भएको महाधिवेशन दुई दिन ढिलो गरी सकिएको हो । नेतृत्व लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुमा सहमति नजुट्दा निर्वाचन गर्नुपरेको थियो । मंगलबार साँझ प्रकाशित मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली पुनः विजयी भएका छन् । ओलीले १८ सय ४० मत ल्याए । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावलले २२० मतमात्र ल्याउन सके । ३६ जना प्रतिनिधिले नो भोट रोजेका थिए ।
ओली एमाले अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् । यसअघि नवौं महाधिवेशनमा उनी माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष बनेका थिए । नेपालले अहिले एमालेबाट अलग भएर नयाँ पार्टी खोलिसकेका छन् ।
महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली र रामबहादुर थापा विजयी भएका हुन् । घनश्याम भुसाल भने उपाध्यक्ष पराजित भएका छन्। उनले ७२५ मत पाएका छन् ।
उपाध्यक्षमा सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डे छन् । शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन् । सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् ।
सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भए । भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । सचिवमा गोकर्ण विष्टले सबैभन्दा बढी १९७६ मत ल्याए । योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्माले र पद्मा अर्यालले समान १८०० मत पाए । लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत पाएका छन् । पराजित भीम आचार्यले १३०० र टंक कार्कीले भने ५०० मत ल्याएका छन् ।
एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव गरी ५ जना पदाधिकारी भने निर्विरोध निर्वाचिन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुले महाधिवेशन स्थलमै पार्टीको निर्वाचन आयोगबाट शपथ लिएका छन् । शपथपछि केन्द्रीय कमिटीको पहिलो बैठक पनि बसेको थियो ।

एमाले पदाधिकारी
अध्यक्ष – केपी ओली
वरिष्ठ उपाध्यक्ष – इश्वर पोखरेल

उपाध्यक्षहरु
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवास नेम्वाङ

महासचिव : शंकर पोखरेल

उपमहासचिवहरु
पृथ्वीसुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु रिमाल

सचिवहरु
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायामाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट

प्रतिक्रिया दिनुहोस्