पशुपतिशमशेर निर्वाचन प्रक्रियामा सहभागी नहुने «

पशुपतिशमशेर निर्वाचन प्रक्रियामा सहभागी नहुने

राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको बुधबारदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका हुन् ।
उनले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताए । राणाले आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको भन्दै नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रंखला नदोहोरियोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु,’ उनले भने, ‘सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो चाहना छ । त्यसैले सर्वसम्मतद्वारा अध्यक्षको चयन होस् भन्ने मेरो प्रयत्न हुनेछ ।’
उनले राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि आफ्नो भूमिका र सहयोग अनवरत रहने पनि बताए । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्नदेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई सघाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्