इजरायल जाने श्रमिकलाई कोभिड खोपको सुविधा «

इजरायल जाने श्रमिकलाई कोभिड खोपको सुविधा

रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका युवालाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले काठमाडौंका ५ वटा अस्पताल सिफारिस गरेको छ । इजरायल जान रोजगार सम्झौताका क्रममा रहेका युवाले कोरोनाविरुद्धको खोप समयमा नै लगाउन वैदेशिक रोजगार विभागले विभिन्न सरकारी अस्पताल तोकेको हो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पिवाबाटा छनोट भएका युवामध्ये कोभिड खोप लगाउन बाँकी रहेका युवाहरुले काठमाडौंका ५ अस्पतालबाट खोप लगाउन सक्ने विभागले जनाएको छ । विभागले वीर अस्पताल, निजामति सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा खोप लगाउन सक्ने जनाएको छ । विभागका निर्देशक डम्बर सुनुवारले कोरोनाविरुद्धको दुवै मात्रा खोप नलगाएका युवालाई पहिलो र दोस्रो खोप अन्तर कम भएको खोप लगाउन उपयुक्त हुने सुझाव दिइएको बताए । खोप केन्द्रमा खोप लगाउन जानुअघि सम्बन्धित युवाले विभागको इजरायल शाखामा अनिवार्य रुपमा सम्पर्क गर्नुपर्ने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल जाने नेपाली युवालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिसकेको छ । हाल इजरायल जान स्वास्थ्य परीक्षण गरिरहेका १ हजार १७५ श्रमिक मध्येबाट परीक्षण रिपोर्ट पास भएका श्रमिकलाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयले हाल नेपालमा मान्यता प्राप्त ७ प्रकारका मध्ये कुनै पनि खोपको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

पासपोर्ट नवीकरण गर्नुपर्ने
इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि पिवाद्वारा छनोट भएका युवामध्ये रोजगारदातावाट स्तरीय रोजगार सम्झौता (एसइसी) प्राप्त हुनेहरुको प्रवेशाज्ञाका लागि पासपोर्टको म्याद नवीकरण गर्नुपर्ने भएको छ । विभागद्वारा जारी सूचनामा भिसा जारीका राहदानीको म्याद सकिने अवधि कम्तिमा ३ वर्ष बाँकी रहनु पर्ने उल्लेख छ । इजरायलको रोजगार प्रक्रियाका लागि जारी गरिएको इम्प्लिमेन्टेसन प्रोटोकलमा उल्लेख भएको प्रावधान बमोजिम २०२५ जनवरी ३१ यता राहदानीको म्याद सकिने श्रमिकले मात्र काठमाडौंस्थित राहदानी विभागवाट आफ्नो राहदानी नविकरण गराउन सक्ने छन् । मंगलबारबाट ५ दिनभित्र विभागको इजरायल शाखामा नवीकरण गरिएको राहदानीको प्रतिलिपि पेश गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्