फलफूल र तरकारीको विषादी अवशेष परीक्षण सात ठाउँबाट «

फलफूल र तरकारीको विषादी अवशेष परीक्षण सात ठाउँबाट


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाहिरी मुलुकबाट आयात हुने मुख्य सात नाकाबाट तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु गरेको छ । विभागले आयातित तरकारीमा जीवनाशक विषादीको अवशेष कति छ भनेर विभिन्न सात ठाउँबाट परीक्षण सुरु गरेको हो ।
यसअघि केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण भइरहेको आयातित तरकारी तथा फलफूल अब भने खाद्य प्रविधिले पनि परीक्षण सुरु गरेको हो । विभागका अनुसार काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा विभागअन्तर्गतका कार्यालयबाट परीक्षण सुरु गरिएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले आयातित तरकारी तथा फलफूलमा विषादीको मात्र के छ भनेर परीक्षण सुरु गरिएको जानकारी दिए । अहिलेसम्म ६ हजार नमुना परीक्षण गर्दा ७-८ वटा नमुना कैफियत पाइएको उनले जानकारी दिए । विभागका अनुसार, परीक्षणको क्रममा एक-दुई ट्रक तरकारी-फलफूल होल्ड गरिएको छ । नमुनाको कम्पाइल गर्ने नभइसकेकाले के के मा कैफियत भेटियो भनेर भन्न नसकिने उनको भनाइ छ ।
आमउपभोक्तालाई गुणस्तरको सुनिश्चितता गर्न आयात हुने तरकारी तथा फलफूल सीमा क्षेत्रमै विषादी परीक्षण गर्नुपर्छ । खाद्य ऐनअनुसार गुणस्तर परीक्षणको दायित्व खाद्य विभागकै हो ।
विभागका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले आयातित तरकारी र फलफूललाई केन्द्रित गरेको छैन । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र करिब २९ स्वरुपका विषादी प्रयोग भइरहेका छन् । फलफूल तथा तरकारीमा पनि दर्जन स्वरुपका विषादी प्रयोग गरिन्छन् । तीमध्ये नेपाली प्रयोगशालाबाट दुई स्वरुप (काब्रामाइट र अर्गानोफोस्पेट) को मात्र परीक्षण हुन्छ ।
विषादीमा ३५ प्रतिशत इनिमेसन रेटभन्दा बढी हुनु हुँदैन । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य मानिए पनि केही समय भण्डारणमा राख्दा इनिमेसन रेट कम भएमा खान मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णतः अखाद्य हुन्छ ।
विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरैपटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्दा इनिमेसन रेट बढ्छ । ३५ प्रतिशतसम्मलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेंलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेतसमेत दिइएको छ । बढी विषादी प्रयोग भएको तरकारीले तत्काल टाउको दुख्ने, वाकवाकी लाग्ने, हात कम्पन हुने, बेहोस हुनेलगायतका समस्या आउँछ । दीर्घकालीन रूपमा क्यान्सर, हातखुट्टा लुलो हुने, गर्भ तुहिने, कलेजोको खराबी, एलर्जीलगायतका समस्या हुनसक्ने जानकार बताउँछन् ।
आयातित तरकारी सबैभन्दा धेरै कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिन्छ । तर आयातित तरकारीमा विषादीको मात्रा प्रभावकारी रूपमा परीक्षण हुँदैन । विभागले एक महिनाअघि देखि नै आयात हुने मुख्यमुख्य नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्