भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण «

भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण

भारत सरकारको एक करोड २७ लाख आर्थिक सहयोगमा दार्चुलाको खलंगा, तिंकरमा श्रीमती महिला संघ प्राथमिक विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवनको मंसिर १२ गते भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्यसी खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरे । सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ ।
यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दार्चुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका छन् । हाल विद्यालयमा अध्ययनरत ३ सय ९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन् । नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाइ वातावरणलाई सुधार गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
आइतबार नै भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारत सरकारको दुई करोड ३३ लाख आर्थिक सहयोग दार्चुलाकै महाकाली–७ धापस्थित श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालय भवनको पनि भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्यसी, खम्पा, महाकाली नगरपालिका, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिद्वारा संयुक्त रूपमा उद्घाटन गरेका छन् । सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप यी परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ का रूपमा अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्