हिमामा एकै वर्ष २१ करोडका १८० योजना सम्पन्न «

हिमामा एकै वर्ष २१ करोडका १८० योजना सम्पन्न


जुम्लाको हिमा गाउँपालिकाले एकै वर्षमा १ सय ८० वटा योजना निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा हिमाले १ सय ८० वटा योजना निर्माण सम्पन्न गरेको हो । गाउँपालिकाका १ देखि ७ नम्बर वडामा सडक, विद्युत, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी भवन, प्रहरी चौकी भवन, काठेपुल, मठमन्दिरलगायतका विभिन्न योजना निर्माण भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा हिमा गाउँपालिकालाई ६ वटा शीर्षकमा संघ र प्रदेशबाट पुँजीगततर्फ २३ करोड ९१ लाख ६ हजार १ सय ३३ रुपैयाँको अख्तियारी प्राप्त भएको थियो । जसका हिमा गाउँपालिकाले कोरोना कहरका बीच पनि २१ करोड २६ लाख ६५ हजार ६ सय ९४ रुपैयाँ खर्च गरेको छ भने एक करोड ८२ लाख ५० हजार फ्रिज भएको छ ।
वित्तीय समानीकरण अनुदानसहित गत वर्ष बचेको र आन्तरिक स्रोत शीर्षकमा १० करोड ८२ लाख बजेट निकासा भएको थियो । जसमा ९ करोड २४ लाख ५१ हजार खर्चेर पालिकाका सातवटै वडामा आश्यकताका आधारमा विभिन्न १ सय ४४ योजना निर्माण भएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।
उनका अनुसार १ सय ४४ योजनाभित्र विद्युत, सडक, शिक्षा स्वास्थ्य, खोनपानी, कृषि, सिँचाइ, भवन निर्माण तथा शिक्षककलाई तालिम, पुराना सडक स्तरवृद्धि, क्रमागत योजनामा थप लगानी लगायतका काम भएका छन् । त्यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मात्रै सातवटा वडामा दुई करोड ९४ लाख ४५ हजारका १४ वटा योजना निर्माण सम्पन्न भएका छन् । जसमा ग्रामीण सडक मर्मत, गाउँका बाटा आरसीसी, सिँचाइ कुलो, पर्यटकीय पदमार्ग निर्माण भएका छन् ।
साथै, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट भने पालिकाभरि सातवटा योजना निर्माण भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा निकासा भएको ७६ लाख ४५ हजार तीन सय लागत बराबरका सातवटा निर्माण भएका हुन् ।
संघ र प्रदेश सरकारबाट प्राप्त विशेष सर्सत अनुदानको ५ करोड ५० लाख ७५ हजार लगानीमा १४ वटा कृषि, पशु, पोषणका कार्यक्रम, पकेट क्षेत्र निर्धारण, पूर्वाधार विकास र शिक्षा क्षेत्रका कार्यक्रम सञ्चालन भएका छन् भने, सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत हिमाको चिउडी गाउँमा सात लाख ९१ हजारको लागतमा घरका छाना फेरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिए ।

नियमित सार्वजनिक सुनुवाइ गर्ने पहिलो पालिका
हिमा गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा गर्दै आव २०७७/०७८ मा २१ करोडका १ सय ८० योजना निर्माण सम्पन्न गरेको प्रगति विवरण प्रस्तुत गरेको हो । हिमा गाउँपालिका स्थानीय सरकार सञ्चालन भएदेखि हालसम्म हरेक वर्षको नियमित सार्वजनिक सुनुवाइ गर्ने पहिलो पालिका पनि हो ।
हिमा अध्यक्ष रजबहादुर शाहीले भने, “सुशासन पारदर्शिता कायममा गर्न, आम नागरिकका गुनासो सुन्न, भावी योजना बनाउन हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्दै आएका छौं । यसले गर्दा हिमा सरकारप्रति नागरिकको विश्वास बढेको छ । हाम्रा विकास निर्माणले जनता खुसी भएको पाएको छु ।” नियमित सार्वजनिक सुनुवाइ गर्नु आर्थिक पारदर्शिताको सबल पक्ष हो । मेरो कार्यकालमा कर्मचारी, स्थानीय नागरिक जनप्रतिनिधिको सहयोगले सबै क्षेत्रको काम सन्तोषजनक रहेको समेत अध्यक्ष शाहीको भनाइ छ ।
सीमित स्रोत साधन र असिमित नागरिकका आवश्यकताका बीच काम गर्ने क्रममा त्रुटि हुन्छन् । हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले भनिन्, “सार्वजनिक सुनुवाइ सुशासन कायम गर्न मात्र नभई सेवा प्रवाहलाई सहज बनाउन, विकास निर्माण चुस्त बनाउन पनि बल पुग्छ । आम नागरिकका गुनासालाई सम्बोधन गरी असल अभ्यासलाई निरन्तरता दिएर अघि बढ्नु पर्ने सिकाइ भएको छ ।”
सार्वजनिक सुनुवाइ ऐन २०५५ र नियमावली २०५६ अनुसार सरकारी तथा गैरसरकारी सबै निकाय वा संस्थानले अनिवार्य सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्