कर्णालीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै «

कर्णालीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । नियुक्त भएको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम शाहीले विश्वासको मत लिन लागेका हुन् ।
शाही नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । विश्वासको मत लिने मिति नजिकिँदा सत्ता गठबन्धनका दलहरुबीचको सम्बन्ध भने टाढिएको छ । तीन दलीय गठबन्धनका दलहरुबीच औपचारिक वार्ता र संवाद भएको छैन । मन्त्रालयको भागबण्डामा आ–आफ्नै अडानबाट पछि नहटेपछि एक महिनासम्म मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री शाहीले पन्धौ्रँ दिनमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा समाजवादीका चन्द्रबहादुर शाहीलाई नियुक्त गरेका थिए । अहिले दुई सदस्यीय मन्त्रीमण्डल रहेको छ ।
मुख्यमन्त्री शाहीले आफू नियुक्त हुनेबेलैमा केही मन्त्रीसहित सपथ ग्रहण गर्न खोजेका थिए । तर गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डाको कुरा मिल्न नसकेपछि एक्लै सपथ ग्रहण गरे । गठबन्धनको ठूलो दल माओवादीले तिहारपछि मन्त्रीपरिषद् विस्तार गर्ने भन्यो । तिहार लगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने पर्खाइमा रहेका मुख्यमन्त्री शाहीलाई माओवादीले भने धोका दियो । निवर्तमान मुख्यमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तारलाई विभिन्न बाहानामा अल्झाउन खोजे ।
गठबन्धनको ठूलो दल भएको र आफूहरुबिना मुख्यमन्त्री चल्न सक्दैनन भन्ने आसय महेन्द्र शाहीले दिए । आफूलाई गलाउने माओवादीको आसय बुझेपछि मुख्यमन्त्री साइले पनि आफू शक्तिशाली हुने जुक्ती निकाले । त्यसपछि उनको योजना बन्यो ‘पहिला विश्वासको मन अनिमात्रै मन्त्रिपरिषद् विस्तार’ । गठबन्धनका दलहरुसंग सल्लाह नै नगरी मंसिर १४ गतेको लागि विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरे । मुख्यमन्त्रीको सिफारिस अनुसार प्रदेश प्रमुखले मंसिर १४ गते दिउसो १ बैठक बोलाएका छन् । आफूहरुसँग सल्लाह नै नगरी विश्वासको मत लिने मिति तय गरेपछि भने माओवादी झस्कियो । प्रदेशसभाले संसद बैठकको सूचना जारी गरेकै दिन मंसिर २ गते माओवाद केन्द्र संसदीय दलको बैठक बसेर संसदीय दलका नेता महेन्द्र शाहीलाई मन्त्रालयको भागवण्डा टुङ्ग्याउने जिम्मेवारी दियो । त्यसपछि भने मुख्यमन्त्रीले मन्त्री परिषद् विस्तारका लागि वास्ता गरेनन् । किनकी उनले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा छन् । मुख्यमन्त्री शाही भने गठबन्धनका दलहरु आन्तरिक अधिवेशन र कार्यक्रममा व्यस्त भएकाले ढिलाई भएको बताउँछन् । ‘विश्वासको मत लिएपछि नै विस्तार गर्छु भनेर कुरेको त होइन तर संयोग त्यस्तो पर्नसक्छ’मुख्यमन्त्री शाही भन्छन ‘मुख्यकुरा त दलहरुको आन्तरिक व्यस्तता नै हो ।’

‘सांसद उपस्थित नभए त्यसको जिम्मेवार हुँदैनौँ’
माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट भने मुख्यमन्त्री उल्टो दिशामा हिँड्न खोजेको बताउँछन् । आफूहरुसँग सल्लाह नगरी विश्वासको मत लिने मिति तोकेको भन्दै विश्वासको मत दिन सांसदहरु उपस्थित मुख्यमन्त्री नै जिम्मेवार हुने बिष्टको भनाइ छ । ‘छलफल भएर दलमा आदेश हुने अन्तिममा ह्वीप लाग्ने जो एउटा प्रक्रिया हो यो कुनै पनि पक्रिया भएको छैन,’ उनले भने, ‘हाम्रा माननीयहरु अधिवेशनमा कुना कुनामा छन् । गठबन्धनका दलको दुई चार जना सांसद नआउने र विश्वासको मत पारित नहुने अवस्था आयो भने त्यसको जिम्मेवार मुख्यमन्त्री नै हुनुपर्छ ।’ गठबन्धनका दलहरुसंग छलफलविना बैठक बोलाउनुले आगामी गठबन्धन कसरी अगाडि बढ्छ भन्ने प्रश्न चिन्ह खडा भएको बिष्टको भनाइ छ । मन्त्रि परिषद् विस्तारका लागि मुख्यमन्त्रीले छलफल गर्न नचाहेको बिष्टले आरोप लगाए । ‘जो कुरा हामीले सहजताको वातावरण बनोस् भनेर बैठकबाट एउटा बटमलाइन तयार ग-यौँ,’ उनले भने, ‘त्यसको लागि आउनुस् बसौँ हाम्रा कुरा छन् छलफल गरेर अगाडी भन्ने ठाउँमा अर्काे ढंगबाट अगाडी बढ्नु भयो यो विडम्बना हो ।’
मन्त्रिपरिषद् विस्तार पछि र विश्वासको मत पहिला लिने कुरालाई मुख्यमन्त्री उल्टो बाटोमा हिँडेको विष्टको ठम्याइ छ । ‘विश्वासको मत लिएर उहाँ चाहीँ सेभ भइहाल्ने पछि यति दिन्छौं आए आउ नआए नआउन् भन्न खोज्या हो फेस सेभिङ हुन खोज्या हो भन्ने कुरा त सामान्य मान्छेले पनि बुझ्न सक्छ,’ उनले थपे । मुख्यमन्त्री आफ्नो ढंगले अघि बढ्न खोज्नुले गठबन्धनमा समस्या उत्पन्न हुने विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्