कोभिडको नयाँ भेरियन्टबारे अध्ययन गर्दै डब्लुएचओ «

कोभिडको नयाँ भेरियन्टबारे अध्ययन गर्दै डब्लुएचओ


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको बताएका छन् । प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा होइन भन्ने कुराको अध्ययन भइरहेको जानकारी दिएका हुन् ।
उनले डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको पनि बताए । उनले डब्ल्यूएचओले यो भेरियन्टबिरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए ।
प्रमुख पाण्डवले भने, ‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो । यो २६ नोभेम्बर २०२१ म देखिएको हो र यसलाई डब्ल्यूएचओले ‘ओमिक्रोन’ नाम दिएको छ । पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरस भन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्नेबारे स्पष्ट भइसकेको छैन । अहिले विश्व स्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरुले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको छ । डब्ल्यूएचओले अहिले यो भेरियन्टमा कोरोनाबिरुद्धको खोप सफल हुन्छ कि हुँदैन भनेर पनि अध्ययन गरिरहेको छ । केही समयभित्रमा सायद अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने कुरा पत्ता लाग्नेछ । डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भरियन्टमा कत्तिको सफल हुनेछ यसले रोगबाट कत्तिको बचाउन सफल हुन्छ, त्यसको अध्ययन चलिरहेको छ ।’
प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदा झैँ मास्क अनिवार्य लगाउनुपर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताए । उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैँ एकै ठाएँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए । प्रमुख पाण्डवले अस्पतालहरुले तयारीका साथ रहनुपर्ने, ¥याल, सिँगान, खकारहरु जथाभावि नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए ।
प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए । उनले कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पु¥याउनु पर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्नुपर्ने बताए । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो । यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलिले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ ।

सरकारले थाल्यो पूर्वतयारी
अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताए ।
उनले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताए । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए । उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए ।
प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताए । उनले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुयाउन निर्देशन दिएको बताए । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्