एनआरएनबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न थप सहज «

एनआरएनबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न थप सहज


नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न वाणिज्य बैंकहरुलाई लचिलो व्यवस्था गरेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरिएको घोषणाअनुसार राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै निक्षेप संकलनको व्यवस्थामा सहुलियत दिएको हो ।
निर्देशन अनुसार अब वाणिज्य बैंकहरुले गैरआवासीय नेपालीबाट अमेरिकी डलर, यूरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर वा क्यानेडियन डलर, जापानी येन र चिनियाँ युआनमा एक वर्षे अवधिको मुद्दति निक्षेप खाता खोल्न पाउनेछन् । यसअघि दुई वर्ष अवधिको मात्र खाता खोल्न सकिने व्यवस्था भएकोमा समय बढाइएको हो । यसैगरी सोमबारको निर्देशनमा जापानी र चिनियाँ मुद्रामा समेत खाता खोल्न सकिने सुविधा थप गरिएको छ । मुद्दति खातामा रकम प्राप्ति र फिर्ता बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ ।
यसैगरी मुद्दति खातामा राख्नुपर्ने न्यूनतम रकममा पनि परिवर्तन गरिएको छ । यसअघि न्यूनतम १० हजार डलर हुनुपर्ने प्रावधान रहेकोमा घटाएर ५ हजार डलर कायम गरिएको छ । विदेशी मुद्रामा खाता खोल्ने ग्राहकको पहिचान भने अनलाइन माध्यमबाट समेत गर्न सकिने निर्देशनमा उल्लेख छ । बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै निक्षेप बढाउनका लागि राष्ट्र बैंकले गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउने प्रावधानलाई लचिलो बनाएको हो ।
एनआरएन इन्भेस्टमेन्ट फन्डका सीईओ अनलराज भट्टराईका अनुसार राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाले दीर्घकालमा गैरआवासीय नेपालीको ४–५ अर्ब डलर नेपाल भित्रिन सक्ने वातावरण बनेको छ । भट्टराईले भने, “यसले नेपालमा लगानीको वातावरण बनेको सन्देश पनि जान्छ ।”

प्रतिक्रिया दिनुहोस्