‘स्थानीयको सहभागिता बिना विकास निर्माण असम्भव’ «

‘स्थानीयको सहभागिता बिना विकास निर्माण असम्भव’


अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताएका छन् ।
रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास आयोजनास्थलका स्थानीय जनताको सहयोगको आवश्यकता औंल्याएका हुन् । “आयोजनास्थलका जनताको सहयोग, सहभागिता र योगदान विना सरकारले मात्र विकास गर्न सक्दैन,” मन्त्री शर्माले भने, “विकासका लागि स्थानीय सक्रिय हुनुपर्छ । सरकारले त्यसमा सहयोग गर्ने मात्र हो ।”
कुनै पनि विकास आयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गर्न लाग्दा स्थानीयले अचाक्ली भाउ बढाउने गरेको प्रति असन्तुष्टि प्रकट गर्दै मन्त्री शर्माले उद्योग वाणिज्य संघ चौरजहारीका प्रतिनिधिसँग भने, “कुनै आयोजना निर्माण गर्न थाल्यो कि जग्गाको भाउ चर्काइन्छ, सरकारले किन्न नसक्ने गरी मूल्य तोकिन्छ । अनि कसरी गर्ने विकास ?” चौरजहारीमा विमानस्थलको स्तरोन्नति र भेरी नदीमा जलविद्युत बनाउने योजना सुनाउँदै उनले जग्गाको भाउ नमिलाएसम्म ती काम गर्न सम्भव नहुने बताए ।
मन्त्री शर्माले शनिबार चौरजहारी अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् भने सानीभेरी गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल भवनको शिलान्याससमेत गरे । यस्तै शनिबार नै उनले आठविसकोटमा स्थापना गरिएको १५ शैयाको नगर अस्पताल भवन उद्घाटन गरेका छन् ।
नेकपा माओवादी केन्द्रको बाँफिकोट र आठविसकोट दोस्रो नगर सम्मेलनको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले शिक्षामा प्रतिष्पर्धी र स्वरोजगार जनशक्तिको उत्पादन, स्वास्थ्यमा उपचारका लागि सकेसम्म जिल्ला बाहिर जानु नपर्ने अवस्थाको सृजना, सबै नागरिकलाई रोजगारयुक्त बनाउने, आर्थिक उत्पादनमा आत्मनिर्भरता लगायतका कार्यहरु गुणस्तरीय विकासका सूचक भएको उल्लेख गरे ।
गुणस्तरीय शिक्षाका लागि सरकारले हरेक विद्यालयलाई उद्यमशील बनाउने नीतिस्वरुप पढ्दै कमाउँदै कार्यक्रम ल्याएको बताए । “विद्यालयहरूले विद्यार्थीलाई किताब घोकाउने मात्र होइन, पढेको कुरा व्यवहारमा लागू गर्ने खालको जनशक्ति उत्पादन गर्नुपर्छ । कम्तिमा १२ कक्षा उत्तीर्ण विद्यार्थीले स्वरोजगार हुने सीप सिकेर निस्केको हुनुपर्छ ।” पढ्दै कमाउँदै कार्यक्रम चालू शैक्षिक सत्रबाटै लागू हुने उनले दाबी गरे ।
सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको, दीर्घ रोगीहरूलाई मासिक पाँच हजारका दरले उपचार खर्च दिने निर्णय भएको, घाइते अपांगता भएकालाई उपचार खर्च दिन लागेको, सहिद परिवारलाई मासिक तीन हजारका दरले जीवनवृत्ति प्रदान गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्