निर्वाचन कार्यालय लमजुङद्वारा सरोकारवालासँग अन्तरक्रिया «

निर्वाचन कार्यालय लमजुङद्वारा सरोकारवालासँग अन्तरक्रिया

लमजुङ- जिल्ला निर्वाचन कार्यालय लमजुङले स्थानीय तह निर्वाचनलाई लक्षित गरी आन्तरिक तयारी शुरु गरेको छ । २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि अन्तिम चरणमा पुगेसँगै आगामी निर्वाचनका लागि आयोगको परिपत्र अनुसार तयारी शुरु गरेकोे हो ।
निर्वाचन आयोगको परिपत्र अनुसार जिल्ला निर्वाचन कार्यालय लमजुङले आइतबार जिल्लाका राजनितिक दल, स्थानिय तह प्रमुख एवं प्रतिनिधी र अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । विशेषगरी आगामी स्थानिय तह निर्वाचनका लागि आयोगबाट भएका आन्तरिक तयारी र जिल्लाका स्थानिय तहमा सञ्चालन हुने फोटो सहितको मतदाता नामावली संकलनका विषयमा सरोकारवालाहरुलाई जानकारी गराएको हो ।
निर्वाचन व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन तयारी र भावी कार्यक्रमबारे जिल्ला निर्वाचन कार्यालय प्रमुख सिर्जना मिश्रले जानकारी गराएकी थिइन्् । कार्यालय प्रमुख मिश्रले आगामी १७ गतेदेखि २६ र २९ गतेदेखि पुस ९ गते सम्म सञ्चालन हुने फोटो सहितको मतदाता नामावली संकलनका विषयमा आम नागरिकसम्म सुचना पु-याई सहयोग गर्न सबै पक्षसँग आग्रह गरिन् । कार्यक्रममा जिसस प्रमुख पाण्डेले निर्वाचनका बेला हरेक नागरिकले मताधिकारको प्रयोग गर्न समयमै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने भएकोले सो अभियानमा सवैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस लमजुङका उपसभापति आनन्दराज घिमिरेले निर्वाचन कार्यालयबाट पालिका केन्द्रसम्म घुम्ती शिविर आयोजना गरेपनि भूगोल नमिलेका पालिकाहरुमा समय तालिका निर्धारण गरी सम्बन्धित वडाहरुमै गएर नामावली संकलन गर्नसके धेरै नागरिकलाई सहज हुने धारणा व्यक्त गरे । नेकपा एमाले जिल्ला कार्यालय सचिव जिवराज घले, नेकपा माओवादी केन्द्रका प्रतिनिधी सुनिल सुनार, नेकपा एकिकृत समाजवादी जिल्ला अध्यक्ष रामबाबु अधिकारी लगायतले निर्वाचनलाई सभ्य र मर्यादित बनाउनु सवै राजनितिक दलहरुको कर्तव्य भएको भन्दै सो अभियानमा कार्यकर्ता तहसम्म सहयोगको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
निर्वाचन कार्यालय लमजुङका अनुसार जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन घुम्ती शिविर हुने भएको छ । पहिलो चरणमा यहि मंसिर १७ गते देखि २६ गतेसम्म र दोश्रो चरणमा मंसिर २९ देखि पुसा ९ गतेसम्मका लागि शिविर सञ्चालन गर्ने भएको हो । यसैबीच, मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मतदाताहरू आआफ्नो जिल्ला नै जानुपर्ने झन्झट अब हट्ने भएको छ । अस्थायी रूपमा आफू बस्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्