बाढी तथा पहिरो प्रभावित ७४ घर परिवारलाई २-२ लाख सहयोग हस्तान्तरण «

बाढी तथा पहिरो प्रभावित ७४ घर परिवारलाई २-२ लाख सहयोग हस्तान्तरण

मनाङ- हिमालपारीको जिल्ला मनाङका बाढी तथा पहिरो प्रभावितहरूलाई गण्डकी प्रदेश सरकारले विशेष सहयोग हस्तान्तरण गरेको छ । आइतबार नासो गाउँपालिकामा एक समारोहकाबीच गण्डकी प्रदेश सरकारले बाढी तथा पहिरोबाट पूर्ण प्रभावित ७४ घर परिवारलाई विशेष राहत एवं सहयोग गरेको हो ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन सहितको टोलीले नासो, चामेलगायतका गाउँपालिकाका प्रभावितहरूलाई ७४ घरका जनही २ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन् । यसअघि प्रभावित क्षेत्रमा केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री बराल सहितको टोलीले अवलोकन गर्दै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले हाल प्रदेश सरकारले पूर्ण घर क्षति भएकाहरूलाई राहत स्वरूप उक्त रकम उपलब्ध गराएको बताउँदै आंशिक क्षति भएको एकिन तथ्याङक संकलन गर्नसमेत आग्रह गरे ।
प्रदेश सरकारले ढिलै भए पनिउ क्त रकम उपलब्ध गराएको सो रकमलाई उचित ढंगले प्रयोग गर्न मन्त्री बरालले प्रभावितहरूलाई सुझाव दिए । मनाङ क्षेत्र यस वर्षको बाढी तथा पहिरोले निकै प्रभावित भएकाले तत्काल गर्नुपर्ने आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकारको ध्यान केन्द्रित भएको उनको भनाइ थियो । प्रदेशका सम्बन्धित निकायहरू मनाङ क्षेत्रको विकास निर्माणमा जागरुकहुन र स्थानीयलाई समेत सचेत हुन मन्त्री बरालले आग्रह गरे ।
नासो गाउँपाालिकाका अध्यक्ष चन्द्र घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद चिन्ताबहादुर घले, मनाङका प्रमुखजिल्ला अधिकारी रवीन्द्र आचार्य, गण्डकी प्रदेश अर्थ मन्त्रालयका अर्थ सचिव बैकुण्ठ अर्याल लगायतको सहभागिता थियो । स्मरणरहोस् असार एक गते आएको बाढी तथा पहिरोले गर्दा मनाङ क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
स्थानीय सरकारको कार्यालय राख्य ठाउँ अभाव, विद्युत् तहस नहसको अवस्था रहेको नासो गाउँपालिकाका अध्यक्ष घलेले गुनासो गरे । आन्तरिक स्रोतको अभावमा केही गर्न नसकेको बताउँदै उनले केही छुटपुट भएकाले पुनः सहयोग उपलब्ध गराउन प्रदेश सरकार समक्ष आग्रह गरे । यस क्षेत्रको महत्वपूर्ण विद्यालय प्रकाश ज्योति र भानु मावि (तालमा रहेको ) नदीको जोखिममा भएको घलेले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्