ताप्लेजुङमा ५२ हजारले लगाए कोरोनाविरुद्धको खोप «

ताप्लेजुङमा ५२ हजारले लगाए कोरोनाविरुद्धको खोप

ताप्लेजुङ – जिल्लामा मंसिर पहिलो सातासम्म ५२ हजार १ सय ८२ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । कोभिशिल्ड, भेरोसिल र जोन्सन एन्ड जोन्सन खोप लगाएका हुन् । कोविडशिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी ४ हजार ९ सय ४० जनाको लागि पनि खोप सुरक्षित छ । यीबाहेक स्वास्थ्य कार्यालयसँग साढे ७ हजार खोप मौज्दात छ । प्रभावकारी खोप सञ्चालनका लागि कमजोर रणनीति र खोपप्रति नागरिकको उत्साहमा आएको कमिलाई मध्यनजरगर्दै आइतबारदेखि खोप अभियान नै सुरु गरेको छ ।
स्वास्थ्य कार्यालयको खोप संयोजक दिनेश रायका अनुसार ९ वटै स्थानीय तहमा खोप तालिका सार्वजनिक गरेर सूचना प्रवाह गरेको छ । कोभिशिल्डको दोस्रो डोज र भेरोसिलको पहिलो र दोस्रो खोप लगाउने खोप संयोजक रायले बताए । उनले भने, “खोप लगाउन हामी तयार छौं । तर, नागरिकमा खोपप्रति उत्साह नै छैन ।” गत असोज ९ गते ६१ हजार खोप ल्याइएको थियो । तीमध्ये २२ हजार तीन सय खोप फिर्ता गरेको छ । यद्यपि सम्बन्धित निकायको खोप अभियानसम्बन्धि पुरानै रणनीति, दुर्गम गाउँमा आवश्यकताबमोजिम खोप नपुग्नु र जनचेतना अभावकका कारण अझै थुप्रै नागरिकले खोप लगाएका छैनन् ।
फुङलिङ नगरपालिका–४ का गोरख बहादुर खवासले आफूले खोप लगाउन नपाएको बताए । खवासले भने, “काम गरी खाने मान्छे ! कहिले कता,कहिले कता हुन्छु । पाए भने लगाउँछु ।” मेरिङदेन गाउँपालिका–४ का मनिष लिम्बुले पनि खोप लगाएका छैनन् । उनका अनुसार गाउँमा खोप नलगाउनेको संख्या धेरै छै । लिम्बुले भने, “सुरुमा त खोप भनेपछि मरिहत्ते गरियो । तर, परिस्थिति सामान्य बनेसँगै खोप लगाउन याद गर्न छाडियो ।” तर खोप पाएदेखि लगाउन आतुर रहेको उनले बताए ।
२०६८ सालको जनगणनाअनुसार १ लाख २७ हजार ४ सय ६१ जनसंख्या छ । उक्त संख्यालाई आधारमान्दा पनि अझै ३० हजारलाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयको आकंलन छ । त्यही भएर खोप लगाउन बाँकी नागरिकलाई खोपप्रति आकर्षित गर्दै समयमै खोप लगाउन नयाँ रणनीति बनेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । प्रजिअ पाण्डेले भने, “सबैलाई खोप अवश्य पुग्छ । खोपको कमि कदापी हुँदैन् ।”

प्रतिक्रिया दिनुहोस्