एमालेमा जनवाद सकियो : थापा «

एमालेमा जनवाद सकियो : थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओली सेसन चलिरहेको बताएका छन् । आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिष्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप लगाए । नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरु हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्शपुरुष हुन सेन रहेको आरोप लगाए ।
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए । उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए । नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनुपर्नेमा जोड दिए । उनले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए । उनले नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताए ।
नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्