‘सम्पदा र संस्कृति संरक्षणमा ज्यापु समुदायको योगदान महत्वपूर्ण’ «

‘सम्पदा र संस्कृति संरक्षणमा ज्यापु समुदायको योगदान महत्वपूर्ण’

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाति ज्यापु समुदायको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
१८औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीसँगको छलफलमा उनले सो कुरा व्यक्त गरेका हुन् । निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भुषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
यही आउँदो पुस ४ गते वसन्तपुरमा मनाउन गइरहेको ज्यापु दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरुप बाजागाजासहति माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी कोषका अध्यक्ष मंगलकृष्ण सिंले परम्परागतरूपमा निमन्त्रणा दिएका थिए । ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारी आइतबार प्रधानमन्त्री कार्यालय शीतल निवास पुगेका थिए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्याकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/०५८ मा ज्यापु समुदायको बाजा संरक्षणका लागि प्राप्त १२ लाख ६० हजार रुपैयाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो ।
यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक विदा दिँंदै आइरहेको यःमरिपुन्हि÷ज्यापुदिवसको पर्व बिदा विगत दुई वर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्नका लागि प्रधानमन्त्रीसमक्ष अुनरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्