सवारी साधनसँग तर्सिएर ३१ भेडाबाख्रा भीरबाट खस्दा दुई बाख्रा र ११ भेडा मरे «

सवारी साधनसँग तर्सिएर ३१ भेडाबाख्रा भीरबाट खस्दा दुई बाख्रा र ११ भेडा मरे

हिमाली जिल्ला मनाङमा सवारी साधनदेखि तर्सिएर झण्डै एकदर्जन भेडाबाख्रा मरेका छन् । मनाङको चामे गाउँपालिका वडा नम्बर १ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङलगायतले सञ्चालन गरेको सिद्धार्थ भेडाफार्मका नौ भेडा र दुई बाख्रा मरेका हुन् ।
हिमाली क्षेत्रमा चिसो बढेसँगै बेसी झर्ने क्रममा रहेको भेडीगोठ मनाङको नासोङ गाउँपालिकाअन्तर्गत खोत्रो भन्ने स्थानमा सवारी साधनसँग तर्सिएर भाग्दा भीरबाट खसेर मरेका हुन् ।
भेडीगोठ बेसी झर्ने क्रममा गत मंगलबार खोत्रो आइपुगेको र सोहीक्रममा चामेतर्फबाट आएको जिप र चामेतर्फ जाँदै गरेको मोटरसाईकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए ।
कार्यालय प्रमुख कुसुमका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका हुन् । सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खसेर भेडाबाख्रा मरेका हुन् । खवर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको टोली घटनास्थल पुगेर अनुगमनसमेत गरेको छ । स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडाबाख्राको उपचारसमेत गरिएको कार्यालय प्रमुख कुसुमले बताए ।
मरेका भेडाहरुको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रियाअघि बढाइएको पनि कार्यालय प्रमुख कुसुमको भनाई छ । आकस्मिक रुपमा परेको आर्थिक क्षतिबाट थोरै भए पनि सहयोग गर्न ब्यवसाय पुनः स्थापना कार्यक्रमबाट सम्बोधन हुनेगरी आवस्यक प्रकृया अगाडि बढाइएको कुसुमले बताए ।
व्यावसायिक भेडाबाख्रा पालन हुँदै आएको सिद्धार्थ भेडाफार्ममा अहिले पाँच सय भेडाबाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तिहजार मिटर माथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् । चिसो बढेसँगै बेसी झर्ने क्रममा सो घटना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्