अर्थतन्त्रमा कर राजस्वको योगदानको आधार कमजोर «

अर्थतन्त्रमा कर राजस्वको योगदानको आधार कमजोर

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कर राजस्वको अनुपात दक्षिण एसियाकै उच्च रहे पनि यसको आधार भने बलियो नभएको अर्थविद्हरूले बताएका छन् । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार विगतका पाँच वर्षदेखि नै नेपालको जीडीपीमा कर राजस्वको अनुपात २० प्रतिशत हाराहारी रहेको छ ।
आर्थिक वर्ष २०७३-०७४ मा नेपालको जीडीपी २६ खर्ब ७४ अर्ब रुपैयाँ रहँदा त्यसको झण्डै २०.७१ प्रतिशत अर्थात् पाँच खर्ब ५३ अर्ब रुपैयाँ कर राजस्व संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७४-०७५ मा कुल जीडीपीमा कर राजस्वको अनुपात २१.६६, २०७५-०७६ मा २१.३५ प्रतिशत थियो भने आर्थिक वर्ष २०७६-०७७ मा १८.८५ प्रतिशत रहेको थियो । त्यस्तै अघिल्लो वर्षको तुलनामा गत वर्ष भने केही बढेर २२.३९ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ ।
तर यसरी उठ्ने राजस्वमा अप्रत्यक्ष करको तुलनामा प्रत्यक्ष करको योगदान निकै कम हुने गरेको छ । प्रत्यक्ष र अप्रत्यक्ष करको अनुपात ३०÷७० को हाराहारीमा रहनुले देशको कमजोर आर्थिक अवस्थालाई दर्शाउने अर्थशास्त्री प्रा.डा. रेशम थापा बताउँछन् । “हाम्रो देशमा आयकरभन्दा उपभोग कर निकै बढी छ,” उनले भने, “आयकर बढी भएको भए त्यसलाई ‘प्रोग्रेसिभ’ अर्थतन्त्र भन्न मिल्थ्यो । तर, उपभोग कर बढी हुने भएकाले यसलाई रिग्रेसिभ अर्थात् प्रतिगामी अर्थतन्त्रको रूपमा लिन सकिन्छ ।” यो तथ्यांकले हाम्रो अर्थतन्त्रमा आम मानिस अर्थात् गरिबहरूको योगदान बढी रहेको दर्शाउने थापा बताउँछन् ।
अर्थशास्त्री प्रा.डा. रघुविर विष्ट पनि कसरी राजस्व उठ्यो त्यसले वास्तविक अर्थतन्त्रको चित्रण गर्ने बताउँछन् । “हाम्रो देशमा प्रत्यक्ष करको अनुपात अप्रत्यक्ष करको तुलनामा निकै कम छ,” उनले भने, “यसले राजस्वको दिगोपनमा समस्या ल्याउने देखिन्छ ।” नेपालमा विगतदेखि नै आर्थिक क्रियाकलापको आधार कमजोर रहेको र आयातले अर्थतन्त्र धानेको विष्टको तर्क छ । “मानिसको आम्दानी बढी हुन्थ्यो भने व्यक्तिगत आयकर, संस्थागत आयकर तथा पुँजीगत लाभ कर बढी हुन्थ्यो,” उनले भने, “तर, हाम्रो देशमा भन्सार, मूल्य अभिवृद्धि कर अन्तःशुल्कलगायत अन्य अप्रत्यक्ष करबाट धेरै कर राजस्व उठ्ने गरेको छ । जुन प्रतिगामी अर्थतन्त्रको उदाहरण हो ।” यस्तै अवस्था रहँदै गए आयात घट्दा राजस्व खुम्चिने र त्यसले साधारण खर्चको अवस्थासमेत धान्न नसक्ने उनी बताउँछन् । अन्य देशसँगको परनिर्भरताले कुनै पनि बेला अर्थन्त्रको गतिशिलता ठप्प हुनसक्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्